एकीकरणपछि प्रदेश सभामा ठुलो दल बन्दै नेकपा

बुधबार, १६ पुष, २०८२
डिजिटल संस्करण

नागरिक उन्मुक्ति पार्टीसँग एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा र नागरिक उन्मुक्तिबिच पार्टी एकीकरणसम्बन्धी सम्झौता सोमबार भएको थियो ।

५३ सदस्यीय प्रदेश सभामा अहिले १८ सांसद रहेको कांग्रेस सबैभन्दा ठुलो दल छ । सरकारको नेतृत्व पनि कांग्रेसले नै गरिरहेको छ । प्रदेश सभामा तत्कालीन माओवादीका सभामुखसहित ११ र तत्कालीन एकीकृत समाजवादीका चार (एक निलम्बनसहित) सांसद छन् । प्रदेशमा सातजना सांसद रहेको नागरिक उन्मुक्तिसँगको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी सभामुख र एकजना निलम्बनबाहेक २० सांसदसहित ठुलो दल बन्नेछ ।

तत्कालीन माओवादी र एकीकृत समाजवादी पार्टीसहित घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी बने पनि संसदीय दल समायोजन भएको छैन । एकीकरणपछि प्रदेश तथा जिल्लास्तरका सभाहरूमा केन्द्रित हुनुपरेकाले संसदीय दल एकीकरण भइनसकेको तत्कालीन माओवादीका प्रमुख सचेतक गीतादेवी मालले बताइन् । प्रदेश सभामा एमालेका ११ सांसद छन् ।

राप्रपाका एक र एकजना स्वतन्त्र (हाल राष्ट्रिय स्वतन्त्र पार्टीमा) सांसद छन् । नेकपा ठुलो दल बने पनि अहिले कांग्रेस–एमाले सम्मिलित सरकारको अंकगणितमा भने कुनै असर पर्नेछैन । प्रदेशमा सरकार निर्माणका लागि २७ सदस्य समर्थन आवश्यक पर्नेमा कांग्रेसका १८ र एमालेका ११ सांसद छन् । नेकपासँग एकीकरण भए पनि पछिल्लो समय नागरिक उन्मुक्ति पार्टी यहाँ छिन्नभिन्न अवस्थामा छ । 

See More On

सुझावित समाचार