ईशानको मृत्यु सवारी दुर्घटनामा नभई हत्या भएको परिवारको आरोप, निष्पक्ष छानबिनको माग

मंगलबार, १५ पुष, २०८२
डिजिटल संस्करण

रुपन्देहीको कञ्चन गाउँपालिकाका १७ वर्षीय ईशान शर्माको हत्या भएको भन्दै परिवारजनले निष्पक्ष छानबिन गर्न र दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । यही ३ पुसमा घरनजिकैको नालीमा उनको शव फेला परेको थियो । परिवारजनका अनुसार घरनजिकैको नालीमा टाउकोपछाडि गहिरो चोट र आँखा फोडिएको अवस्थामा उनको शव भेटिएको थियो । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले प्रारम्भिक अध्ययनअनुसार ईशानको मृत्यु गाडीको ठक्करबाट भएको जनाए पनि परिवारले पत्याएका छैनन् । परिवारले योजनाबद्ध ढंगले हत्या भएको भन्दै निष्पक्ष छनबिनको माग गरेका छन् । मंगलबार घरैमा पत्रकार सम्मेलन आयोजना गरी गाडीको ठक्करबाट मृत्यु भएको भन्ने प्रहरीको भनाइ पत्याउन नसकिने र घटनाको निष्पक्ष छानबिन गरी न्यायिक निरुपण गर्न माग गरेका छन् । परिवारजनले ईशानको सुनियोजित रूपमा हत्या भएको तर्क गरेका छन् ।

कञ्चन गाउँपालिका– ३, धौलागिरिचोक घर भएका ईशान स्थानीय बुद्धदीप बोर्डिङ स्कुलमा ११ कक्षामा अध्ययनरत थिए । तेक्वान्दो खेलाडी र प्रशिक्षकसमेत रहेका उनी २ पुसमा विद्यालयबाट घर आएर पुनः तेक्वान्दो सिकाउन विद्यालय पुगेको र फर्केर जिमहाउस गएका थिए । तर, साँझसम्म पनि घर फर्केका थिएनन् ।

उनको शव घरबाट डेढ सय मिटर उत्तरमा सडक किनारको नालीमुनि भेटिएको थियो । प्रहरीले गाडीको ठक्करबाट २ पुस साँझ ईशानको मृत्यु भएको र ३ पुसमा शव फेला परेको प्रारम्भिक अनुसन्धान रिपोर्ट परिवारलाई सुनाएको थियो । 

पत्रकार सम्मेलनमा बुबा अर्जुन शर्माले प्रहरीले गाडीको ठक्करबाट ईशानको मृत्यु भएको प्रारम्भिक अनुसन्धान भन्दै तीनजना खडा गरेको र त्यसपछि केही बुझ्न नचाहेको बताए ।

ईशानकी आमा रमा शर्माले बुढेसकालको सहराको हत्या भएको १४ दिन हुँदासम्म पनि न्याय नपाएको भन्दै न्यायका लागि अपिल गरिन् । उनले भनिन्, ‘म न्याय नपाएकी आमा मेरो कोख रित्तियो, यहाँ भएका लाखौँ ईशान मर्न भएन, मलाई न्याय दे सरकार ।’

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले भने प्रारम्भिक अनुसन्धानमा गाडीको ठक्करबाट ईशानको मृत्यु भएको पाइएको र चालकसहित तीनजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताए ।

सुझावित समाचार