माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस : महिलातर्फको उपाधि शिवालीलाई

पुरुषतर्फको उपाधिका लागि आयुष्मान र करण भिड्ने

मंगलबार, १५ पुष, २०८२
डिजिटल संस्करण

शिवाली गुरुङले पोखरामा जारी २२औँ संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता ०८२ अन्तर्गत ओपन वुमेन्स सिंगल्सको उपाधि हात पारेकी छिन् ।

कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा जारी प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न फाइनल खेलमा नेपालकी शीर्ष वरीयता प्राप्त खेलाडी सुनिरा थापालाई ६–३, ६–२ को सेटमा पराजित गर्दै शिवालीले उपाधिसँगै नगद ८० हजार पाउँदा उपविजेता सुनिराले ४० हजार नगदसँगै ट्रफी र मेडल पाइन् ।

जारी प्रतियोगिताअन्तर्गत मेन्स सिंगल्सतर्फको उपाधिका लागि नेपालका आयुष्मान हजुर घले र भारतबाट आएका नेपाली खेलाडी करनबहादुर थापा भिड्ने भएका छन् ।

मेन्सतर्फ मंगलबार सम्पन्न सेमिफाइनलको खेलमा आयुष्मानले नेपालका नम्बर १ खेलाडी प्रदीप खड्कालाई २–१ को सेटमा पाखा लगाउँदै अन्तिम दुईमा स्थान बनाएका थिए । पहिलो सेट २–६ ले आफ्नो पक्षमा पारेका प्रदीप दोस्रो सेटमा ६–४ र तेस्रो सेटमा ६–२ ले पछि पर्दै प्रतियोगिताबाट बाहिरिन पुगेका थिए । दोस्रो सेमिफाइनलमा करनले राजवीर प्रधानलाई ६–३, ६–२ को सोझो सेटमा पराजित गर्दै उपाधिका लागि आयुष्मानसँगको भेट पक्का गरेका हुन् ।

प्रतियोगिताअन्तर्गत ५५ वर्षमाथि पुरुष एकलतर्फको उपाधि चन्द्र शाहीले हात पार्ने क्रममा जीवन घिमिरेलाई ६–०, ६–४ को सेटमा पराजित गरेका थिए । उपाधिसँगै विजेताले ३० र उपविजेताले १५ हजार नगद, ट्रफी र मेडल पाए ।

४५ वर्षमाथि पुरुष सिंगल्सको फाइनलमा कमल भण्डारीले देव क्षेत्रीलाई ६–२, ६–० को सोझो सेटमा पाखा लगाए । उपाधिसँगै कमलले ४० र उपविजेता देवले २० हजार नगद, ट्रफी र मेडल पुरस्कार प्राप्त गरे ।

जारी प्रतियोगिताअन्तर्गत ३५ वर्षमाथि सिंगल्सको उपाधिका लागि पूर्वनेपाल नम्बर १ जितेन्द्र परियार र सन्तोष खत्री भिड्ने भएका छन् । मंगलबार सम्पन्न सेमिफाइनलमा जितेन्द्रले पेमा नोर्बुलाई ६–०, ६–२ को सेट र सन्तोषले भीष्मजंग गुरुङलाई ६–४, ६–४ को सेटमा पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएका थिए ।
 

सुझावित समाचार