नेपाल पत्रकार महासंघ रूपन्देहीको आयोजनामा ‘सञ्चार, फोटो र प्रदर्शनी अनुसन्धान अन्तरसंवाद’ कार्यक्रम सम्पन्न भएको छ । रुपन्देही उद्योग संघले बुटवल मण्डपमा पुस ३ देखि १७ गतेसम्म हुने १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि र पर्यटन महोत्सवका अवसरमा मंगलबार आयोजना गरेको यो कार्यक्रममा सहभागीहरूले फोटो पत्रकारितालाई डिजिटल र संस्थागत रूपमा अघि बढाउन सुझाव राखेका छन् ।
उद्योग संघको व्यवस्थापनमा पत्रकार महासंघले प्रदर्शनीको पहिलो पेभेलियनमा फोटो प्रदर्शनी राखेको छ । मंगलबारको अन्तरसंवादमा सहभागीले फोटो पत्रकारिता, सञ्चार इतिहास, प्रविधि, पर्यटन, उद्योग र संस्थागत सहकार्यका विषयमा केन्द्रित कार्यक्रमले फोटोको ऐतिहासिक, व्यावसायिक र भावनात्मक शक्तिलाई उजागर गरेको र फोटो इतिहास तथा डिजिटल संरक्षणमा जोड दिइएको छ ।
कार्यक्रममा सहभागी विभिन्न संस्थाका प्रतिनिधिहरूले संस्थागत योजना र सहकार्य गर्ने प्रतिबद्धता जनाए । यो कार्यक्रमले फोटो पत्रकारिता र सञ्चार सामग्रीलाई डिजिटल, संस्थागत र बहुपक्षीय सहकार्यमार्फत संरक्षण र प्रवर्द्धन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
कार्यक्रममा रूपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले पत्रकार महासंघसँगको संस्थागत सहकार्यलाई बलियो बनाउन ठुलो लगानी गरेर हार्दिकता देखाएको बताए । उनले संस्थागत विकासका लागि सहकार्य अपरिहार्य रहेको पनि बताए । ‘फोटो कथा, भावना र स्मृति दिलाउने माध्यम हो,’ उनले भने, ‘यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा ध्यान दिनुपर्छ । नयाँ पुस्तालाई जोड्न प्रविधिलाई पछ्याउनुपर्छ, उद्योग र अर्थतन्त्रको विकासका लागि रचनात्मक सुझाव आवश्यक छ ।’
रूपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले फोटो प्रदर्शनीले स्थानीय उत्पादन, पर्यटन र पहिचान प्रवर्द्धनमा सहयोग पुर्याउने बताउँदै पत्रकार महासंघले गर्ने यस्ता रचनात्मक कार्यक्रममा सहकार्य गर्ने प्रतिबद्धता जनाए । बुटवल उद्योग वाणिज्य संघका कोषाध्यक्ष वसन्त ढकालले फोटो प्रदर्शनी र अनुसन्धानलाई दिगो बनाउन समीक्षासहितको योजना आवश्यक रहेका उल्लेख गर्दै भने, ‘यस्ता कार्यक्रमलाई संस्थागत रूपमा अघि बढाऔँ ।’
कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष डिआर घिमिरेले फोटो पत्रकारितालाई पत्रकारिताको जीवन्त रूपको संज्ञा दिँदै प्रविधिले फोटो संकलन, संरक्षण र प्रस्तुतीकरणलाई सहज बनाएको बताए । ‘अब कागजमा मात्रै राखेर हुँदैन, डिजिटल माध्यमबाट सबै सामग्री सुरक्षित गर्नुपर्छ । संस्थागत रूपमा डिजिटल अभिलेख बनाउने समय आइसकेको छ,’ उनले भने ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रामप्रसाद आचार्य, महासंघ रुपन्देहीका पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाईं, सल्लाहकारहरू भरत केसी, खिमानन्द भट्टराई, महासंघ रूपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, सचिव सिपी खनाल, मणिमुकुन्द सेन उद्यानका अध्यक्ष माधव नेपाल र अध्येता विजय हितानले फोटो पत्रकारिताबारे चर्चा गरेका थिए ।
सांस्कृतिक सम्पदालाई फोटोमार्फत सुरक्षित गर्ने काम पत्रकारिताले गरिरहेको सन्देश फोटो प्रदर्शनीमार्फत राखिएको नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले बताएका छन् । नेपाल पत्रकार महासंघको फोटो प्रदर्शनीको सबैभन्दा ठुलो फाइदा भनेको पत्रकारिताको इतिहासलाई जनतासँग प्रत्यक्ष भेट गराउनु भएको उनको भनाइ छ ।
रुपन्देही उद्योग संघको आयोजनामा पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलमा आयोजना भएको १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको प्रदर्शनीभित्र राखिएको फोटो प्रदर्शनीमा पुराना क्यामेरा, टाइपराइटर, प्रेस उपकरण, ऐतिहासिक फोटो, प्रकाशित पत्रिकाजस्ता सामग्री राखिएका छन् ।
प्रदर्शनीमा लिथो मेसिन, बाइनकुलर, बाँसको कलम, खड्कशमशेर–जुद्धसमशेरको पालाको इँटा, बिसौनी (तराजु), फोटो खिच्ने पुरानो भाँडा, पहिले प्रयोग गरिने माइकको ढ्वाङ, पुरानो फोटा छाप्ने मेसिन, टेलिफोन, रेडियो, क्यासेट प्लेयर, प्रोजेक्टर, ग्रामोफोन, भिडियो क्यामेरासहितका पुराना सामग्रीप्रति अवलोकनकर्ताको बढी चासो रहेको र ती सामग्रीहरूको फोटाे–भिडियो बनाउनेको भिड लागेको महासंघले जनाएको छ ।