उदयपुरमा जंगली हात्तीले गाउँ पसेर आतंक मच्चाउँदा झन्डै तीन लाख रुपैयाँबराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार उदयपुरगढी गाउँपालिका– ७ नाङग्राङेमा मंगलबार बिहान जंगली हात्तीले आतंक मच्चाएको हो।
जंगलबाट आएका चारवटा हात्तीको समूहले स्थानीय सर्वसाधारणका घर तथा भान्साघर भत्काई अन्नपात र केराका बोट नष्ट गरिदिँदा दुई लाख ९१ हजार रुपैयाँको क्षति भएको दोङले जानकारी दिए।
उदयपुरगढी गाउँपालिका– ७ बस्ने जस रानामगरको घरमा जंगली हात्तीले एक लाख ५० हजार, टेकबहादुर मगरको घरमा ६१ हजार र नेत्र केप्छाकी मगरको दुई सय बोट केरा नष्ट गर्दा ८० हजार रुपैयाँको क्षति भएको हो।
जंगली हात्तीको समूहलाई नेपाल प्रहरी र स्थानीयवासीहरूको सहयोगमा जंगलतर्फ लखेटिएको थियो। ७ पुसयता त्रियुगा नगरपालिका र उदयपुरगढी गाउँपालिकामा जंगली हात्तीकाे आतंक बढेको छ।