बंगलादेशमा हिन्दुका पाँच घरमा आगजनी

मंगलबार, १५ पुष, २०८२
डिजिटल संस्करण

मुस्लिम बहुल देश बंगलादेशको पिरोजपुर जिल्लाको डुमरिताला गाउँमा हिन्दु परिवारका कम्तीमा पाँच घरमा आगजनी गरिएको छ । ढाकामा अल्पसंख्यकलक्षित हमला बढिरहेका वेला पछिल्लो घटना भएको हो । डिसेम्बर १८ मा मयमनसिंहमा ईश्वरनिन्दाको आरोपमा २९ वर्षीय मजदुर दिपुचन्द्र दासलाई भिडले कुटपिट गरी हत्या गरेकोे एक हप्तापछि यो घटना भएको हो । 

स्थानीय अधिकारीका अनुसार आगलागीको सही कारण अझै पुष्टि भएको छैन । आक्रमणकारीले एउटा कोठामा कपडामा लगाइदिएको आगो अन्य घरमा पनि फैलिएको थियो । 

पीडित घटनाबारे बोल्न डराएको र प्रहरीले आगजनीको कारण अनुसन्धान गरिरहेको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ । परिवारका सदस्यहरूले बिहान आगो लागेको थाहा पाएपछि ढोका बाहिरबाट बन्द गरिएको हुनाले सुरुमा उनीहरू भित्र फसेको बताए ।

दुई प्रभावित परिवारका सबै आठ सदस्य टिनका पाता र बाँसको बार काटेर भाग्न सफल भए । यद्यपि, उनीहरूको घर र सामान पूर्ण रूपमा जलेर खरानी भए । आगलागीबाट घरपालुवा जनावर पनि मारिएका छन् । घटना भएको ठाउँ राजधानी ढाकाबाट लगभग दुई सय ४० किलोमिटर टाढा छ ।

यस वर्ष जुनदेखि डिसेम्बरसम्म बंगलादेशमा हिन्दु अल्पसंख्यकविरुद्ध ईश्वर निन्दा आरोपसँग सम्बन्धित कम्तीमा ७१ घटना रिपोर्ट गरिएको बंगलादेश अल्पसंख्यकका लागि मानव अधिकार कांग्रेस (एचआरसिबिएम)ले एक प्रतिवेदनमा जनाएको छ ।

See More On

सुझावित समाचार