सरकारले गृह मन्त्रालयका सचिव रामेश्वर दंगाललाई तीन महिनामै हटाएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दंगाललाई हटाएर गृह मन्त्रालयमा राजकुमार श्रेष्ठलाई जिम्मेवारी दिएको छ। श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत थिए।
गृहसचिव श्रेष्ठले सोमबार नै पदभार ग्रहण गरेका छन्। गृहमन्त्री ओमप्रकाश अर्यालले सरुवा भई आएका श्रेष्ठलाई स्वागत गर्नुका साथै नयाँ जिम्मेवारीमा सरुवा भई जान लागेका सचिव रामेश्वर दंगाललाई मन्त्रालयमा बसेर आजसम्म गरेको कामप्रति धन्यवाद दिँदै बिदाइ गरेका छन्।
मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै गृहसचिव श्रेष्ठले सरकारले दिएको कार्यभार आफूले सबै कर्मचारी साथीहरूको साथ सहयोगबाट सक्दो कुशलतापूर्वक निर्वाह गर्ने बताएका छन्। आगजनी र खरानीबाट उठेको यस मन्त्रालयलाई अहिले सामान्य अवस्थामा ल्याउन सरुवा भएर गएका सचिव दंगालसमक्ष आभार प्रकट गरे।
कार्यक्रममा सचिव श्रेष्ठले अहिले बदलिँदो परिस्थिति र नागरिकको जनभावनाअनुरूप सेवा प्रदान गर्न सबै कर्मचारीहरूलाई निर्देशन दिएका छन्।
सचिव दंगालको लोक सेवा आयोगमा सरुवा भएको छ। गत असोजको दोस्रो साता दंगाल गृहसचिव भएका थिए।