हिसानको अध्यक्षमा शर्मा निर्वाचित

विद्यालय तहदेखि विश्वविद्यालयसम्मको शिक्षा सुधार्ने प्रतिबद्धता

सोमबार, १४ पुष, २०८२
डिजिटल संस्करण

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)को अध्यक्षमा युवराज शर्मा निर्वाचित भएका छन्। नवौं महाधिवेशनबाट १६० मतसहित शर्मा अध्यक्षमा विजयी भएका हुन्।

शनिबार सम्पन्न निर्वाचनमा उनका प्रतिस्पर्धी लोकबहादुर भण्डारीले १०६ मत प्राप्त गरे। अध्यक्षमा निर्वाचित भएका शर्मा यसअघि रमेश सिलवालको कार्यकालमा वरिष्ठ उपाध्यक्ष र उनीसँग पराजित भण्डारी महासचिव भएर काम गरेका थिए।

त्यस्तै हिसानको उपाध्यक्षमा टंकराज आचार्य र स्वागत श्रेष्ठ विजयी भएका निर्वाचन समितिले जनाएको छ। महासचिवमा रामहरि सिलवाल निर्वाचित हुँदा उपाध्यक्षतर्फ नरेन्द्रबहादुर अधिकारी, मुकुन्द घिमिरे, राजेन्द्र अधिकारी, वीरेन्द्र जयना श्रेष्ठ, आरबी अधिकारी, ऋषि तिवारी, डोलराज पाण्डे, धरणीधर अधिकारी, विष्णुराज पौडेल, सुमन हरिन्द्र लामिछाने र गोपाल आचार्य निर्विरोध चयन भएका छन्।

सचिवमा जीवन लामा गोले, कृष्णप्रसाद पौडेल, पारस श्रेष्ठ, भवानीप्रसाद पौडेल, यामबहादुर रोका, बलराम पन्त र रोजश कार्की विजयी भएका छन्। विधानअनुसार हिसानको केन्द्रीय समितिमा ६३ जना रहने व्यवस्था छ। 

विद्यालय तहदेखि विश्वविद्यालयसम्मको शिक्षा सुधार्ने प्रतिबद्धता
नवनिर्वाचित अध्यक्ष शर्माले नेपालको विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको शिक्षा सुधारमा हिसानले पहलकदमी चाल्ने प्रतिबद्धता जनाए। ‘मुख्य रुपमा हामीले शिक्षा ऐन र शिक्षा नीति बलियो हुनुपर्छ भन्नेतिर जोड दिएर काम गर्छौं, विद्यालयदेखि विश्वसविद्यालयसम्मका ऐन बनाउन सरकारलाई दबाब दिन्छौं, सरकारले शिक्षालाई कसरी अघि लैजान्छ, शैक्षिक संघसंस्थाहरुलाई कसरी हेर्छ त्यसबारेमा हामी चनाखो भएर शिक्षा सुधारमा काम गर्छौं,’ उनले भने।

संसदबाट पास हुने अवस्थामै पुगेको विद्यालय शिक्षा ऐन अलपत्र परेको उल्लेख गर्दै उनले थपे, ‘ऐन नआउँदा हामी शून्यमा झरिसकेका छौं।’ उनले विद्यार्थीहरुलाई नेपालमै पढ्ने बलियो वातावरण सिर्जना गर्न, नीतिगत रुपमा निजी क्षेत्रको योगदानलाई प्रभावकारी बनाउन, निजी शैक्षिक संस्थाले प्रदान गर्ने छात्रवृत्तिको दायित्वलाई व्यवस्थित र प्रभावकारी बनाउने, शिक्षालयलाई प्रविधिमैत्री बनाउनेलगायत सवालमा जोड दिएर काम गर्ने बताए।

सुझावित समाचार