ब्राजिलको सर्वोच्च अदालतले २०२२ मा भएको चुनावमा पराजयपछि पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई सत्तामा राख्ने षड्यन्त्रमा भाग लिएको आरोपमा दोषी ठहरिएका र सजाय पाएका १० जनालाई घरमै नजरबन्द गर्ने आदेश जारी गरेको छ ।सर्वोच्च अदालतका न्यायाधीश डे मोरेसले उक्त फैसला गरेका हुन् ।
१० जना अधिकारीहरूले कुको योजना बनाउन मद्दत गरेका फैसलामा बताइएको छ । अदालतका अनुसार उनीहरूले बोल्सोनारोलाई सत्तामा रहन मद्दत गर्न सामाजिक सञ्जालमा गलत सूचना फैलाएका थिए । यसैबिच ब्राजिलको कांग्रेसले २७ वर्षभन्दा लामो जेलसजाय सुनाइएका पूर्वराष्ट्रपति जैर बोल्सोनारोको जेल सजाय घटाउने विधेयकलाई अनुमोदन गरेको छ ।
गत हप्ता तल्लो सदनबाट पारित भएको विधेयक केही दिनअघि माथिल्लो सदन (सिनेट)ले पनि अनुमोदन गरेको हो । विधेयकलाई राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले हस्ताक्षर गरेपछि मात्र कानुन बन्छ । तथापि, लुलाले पहिले नै विधेयकमाथि भिटो प्रयोग गर्ने संकेत गरेका छन् । त्यसोभए बोल्सोनारो नजिकका कन्जर्भेटिभको बहुमत रहेको संसद्ले राष्ट्रपतिको भिटोलाई उल्ट्याउने सम्भावना छ ।
विधेयकले बोल्सोनारोको जेलको अवधि कम्तीमा ६ वर्षसम्म घटाउने वा दुई वर्षभन्दा केही बढी मात्र जेलमा बस्नुपर्ने बनाउन सक्ने कानुनविज्ञले बताएका छन् । उग्र दक्षिणपन्थी नेता बोल्सोनारो अहिले ब्राजिलियाको संघीय प्रहरी मुख्यालयको विशेष सेलमा आफ्नो सजाय भोगिरहेका छन् ।
विधेयकले ‘कु प्रयास’ र ‘लोकतान्त्रिक विधिको शासनलाई हिंसात्मक रूपमा उल्ट्याउने’ मुद्दामा फरक–फरक सजायको सट्टा दुईमध्ये जुनको बढी सजाय छ, त्यो मात्र भुक्तान गरे पुग्ने व्यवस्था गरेको छ । यस व्यवस्थाले बोल्सोनारोलाई मात्र नभई उनीसँगै सजाय पएका उनका सबै सहयोगीलाई पनि फाइदा पुर्याउनेछ ।