काठमाडौं महानगरपालिकाका मेयर बालेनसँगको एकतासँगै राष्ट्रिय स्वतन्त्र पार्टी वैकल्पिक राजनीतिको केन्द्र बन्दै गएको छ। आइतबार बिहान बालेन र रास्वपाका सभापति रवि लामिछानेबिच बृहत् एकताको सहमति भएको हो । जसअनुसार बालेन र उनको टिम आगामी निर्वाचनमा रास्वपाबाटै निर्वाचनमा प्रतिस्पर्धा गर्नेछ।
बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर रास्वपा निर्वाचनमा जान लागेको हो। यससँगै अन्य नयाँ दल पनि रास्वपासँग सहकार्य तथा एकताको मिल्ने प्रयासमा छन्।
कुलमान घिसिङको पहलमा खुलेको उज्यालो नेपाल पार्टीले छलफल जारी राखेको छ। आइतबार बेलुकासम्म रवि लामिछाने, बालेन र कुलमान घिसिङबिच सहकार्यका विभिन्न मोडलमा छलफल जारी छ ।
वैकल्पिक राजनीतिको आरम्भ गरेको विवेकशील साझा पार्टीले पनि एक महिनाअघि नै रास्वपासँग एकता गरिसकेको छ । जेन–जी आन्दोलनपछि कतिपय जेन–जी अगुवाहरू पनि सो पार्टीमा आबद्ध भइसकेका छन् । वैकल्पिक शक्तिहरूसँगको एकतासँगै तीव्र रूपमा संगठन विस्तार गरिरहेको रास्वपा आगामी निर्वाचनमा ठुला दलका लागि चुनौती बन्ने देखिएको छ ।