अन्ततः नेकपा (एमाले) पनि निर्वाचनमा होमिएको छ। आइतबार बसेको एमालेको सचिवालय बैठकले सोमबार समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ।
एमालेले यसअघि निर्वाचनमा जानेसम्बन्धी औपचारिक निर्णय गरेको थिएन । समानुपातिक सूची बुझाउने निर्णयसँगै एमाले पनि चुनावमा होमिएको छ।
आइतबारको एमालेको बैठक निर्वाचनकै सम्बन्धमा केन्द्रित भएको स्रोत बताउँछ । सबै नेताहरूले देशको स्थायित्वका लागि पार्टी पनि चुनावबाट भाग्न नहुने बताएका थिए।
बैठकमा समानुपातिकको सूची पनि बनाएर त्यसमा छलफल भएको थियो। जसमा नाम हेरफेर गर्ने अधिकार अध्यक्ष केपी ओलीलाई दिइएको छ । साथै, प्रत्यक्षतर्फको निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवार छनोटबारे पनि बैठकमा छलफल भएको सचिव राजन भट्टराईले बताए। २० पुसभित्र प्रत्यक्षतर्फका उम्मेदवारको सिफारिस गर्न बैठकले निर्देशन दिने निर्णय गरेको छ।
अन्य दलहरूले निर्वाचनमा भाग लिने निर्णय गर्दा पनि एमालेका कारण २१ फागुनमै निर्वाचन हुनेमा आशंका व्यक्त हुँदै आएको थियो। एमालेको निर्णयसँग देश चुनावमा होमिएको छ । समानुपातिक सूची बुझाउन निर्वाचन आयोगले सोमबारका लागि अन्तिम दिन तोकेको छ । सबै दल सूची बनाउन केन्द्रित छन् । चार साना दलले आइतबार नै बन्दसूची बुझाइसकेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।