बाघको आक्रमणबाट कञ्चनपुर पुनर्वास नगरकी एक महिलाको मृत्यु भएको छ। पुनर्वास नगरपालिका–६, कान्छाराम टोलकी ५० वर्षीया सुना निरौलाको मृत्यु भएको हो।
कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले निरौलाले शनिबार दिउँसो घरबाट घाँस काट्न भारतीय दुधुवा नेसनल पार्क(जंगल)गएकी निरौलाको बाघको आक्रमणबाट मृत्यु भएको बताए।
घटनाको प्रकृतिअनुसार निरौलालाई बाघले आक्रमण गरेको देखिएको प्रहरीले जनाएको छ। निरौलाको शव आइतबार फेला परेको हो। प्रवक्ता बोहराका अनुसार भारतीय सुरक्षाकर्मीको सहयोगमा शव नेपाल ल्याउने तयारी भइरहेको छ। घाँस काट्न जंगल गएकी निरौला घर नफर्किएपछि घर परिवार, स्थानीयले खोजी गरेका थिए। निरौलाको निधनसँगै घर परिवार, आफन्त शोकाकुल भएका छन्।