लुम्बिनी साक्षर प्रदेश घोषणा

साक्षरबाट शिक्षित प्रदेशतर्फ अघि बढ्छ लुम्बिनीः मुख्यमन्त्री आचार्य

आइतबार, १३ पुष, २०८२
डिजिटल संस्करण

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई अब साक्षरबाट शिक्षित प्रदेशको रूपमा घोषणा गर्ने गरी सरकारले काम गर्ने बताएका छन्।

आइतबार राप्ती उपत्यका (देउखुरी)मा आयोजित लुम्बिनी प्रदेश साक्षर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले शिक्षक, विद्यार्थी, अभिभावकलगायत सबै सरोकारवालाको अथक प्रयासका कारण साक्षर प्रदेश घोषणा सम्भव भएको र यसलाई दिगो रूपमा अघि बढाउने जिम्मेवारी सबैको हुने बताए। 

प्रदेश सरकारले सामाजिक विकासलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम र कानुन निर्माणमा जोड दिँदै आएको दाबी गरे। प्रदेशमा साक्षरताको मापदण्ड पूरा भई १५ देखि ६० वर्ष उमेर समूहको औसत साक्षरता दर ९६.१६ प्रतिशत पुगेकाले लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको मुख्यमन्त्री आचार्यले जानकारी दिए।

लुम्बिनी प्रदेशमा पाँच हजार ७२२ सामुदायिक बालविकास केन्द्र, चार हजार ४३९ सामुदायिक विद्यालय, तीनवटा विश्वविद्यालय, १८७ क्याम्पस र ३२९ सामुदायिक सिकाइ केन्द्र रहेका छन्। प्रदेशभर विद्यालय तहमा १२ लाख ४६ हजार २७२ विद्यार्थी अध्ययनरत छन्।

कार्यक्रममा सभामुख तुलाराम घर्तीमगरले सामाजिक न्यायसँग जोडिएका ऐन निर्माण गर्न आवश्यक रहेको बताए। उनले प्रदेशमा भाषा ऐन आवश्यक रहेको उल्लेख गर्दै भाषा, संस्कृति र सभ्यताको संरक्षण पहिचानका लागि अपरिहार्य भएको धारणा राखे। 

सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले प्रदेशको शैक्षिक गुणस्तर वृद्धि गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताए। उनले अझै विद्यालयबाहिर रहेका ४२ हजार विद्यार्थीलाई विद्यालय शिक्षामा ल्याउन सक्रियता बढाउनुपर्नेमा जोड दिए।

सुझावित समाचार