सप्तरीको विष्णुपुर गाउँपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गरिएको छ। गाउँपालिकामा आयोजित विशेष कार्यक्रममा संविधानसभा सदस्य तथा पूर्वमन्त्री उमेश यादवले विष्णुपुर गाउँपालिकालाई औपचारिक रूपमा बालविवाहमुक्त घोषणा गरिएको हो।
गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवका अनुसार विष्णुपुर मधेश प्रदेशको चौथो बालविवाहमुक्त गाउँपालिका बनेको छ। उनले बालविवाहका नकारात्मक असर र कानुनी सजायबारे पालिकावासीलाई व्यापक रूपमा जानकारी गराउँदै सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गरी यो उपलब्धि हासिल गरिएको बताए।
बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र जीवनका अवसरमा गम्भीर असर पार्दै आएको छ। सानो उमेरमै विवाहका कारण बालिकाहरू आमा बन्न बाध्य हुने र शिक्षाबाट वञ्चित हुने समस्यामा परेका थिए भने बालकहरू पनि चाँडै जिम्मेवारीको बोझले थिचिनुपर्ने अवस्थाबाट गुज्रिरहेका थिए।
बालविवाहमुक्त घोषणा केवल एउटा उत्सव मात्र नभई समाजको उज्ज्वल भविष्यप्रतिको दृढ प्रतिबद्धताको सुरुवात भएको अध्यक्ष यादवले उल्लेख गरे।