जनसहभागितामा भक्तपुरको इन्द्रायणी मन्दिर पुनर्निर्माण हुँदै छ । विकासमा भक्तपुर नगरपालिकाको आफ्नै मोडेल छ । नवयुवादेखि ज्येष्ठ नागरिकसम्म विकास निर्माणमा उत्तिकै सचेत र सहभागी छन् । नगरपालिकाले ठेकेदारलाई नभई स्थानीय समुदायलाई नै निर्माणको जिम्मेवारी दिने गरेकाले पनि भौतिक निर्माण र पुनर्निर्माणमा स्थानीय जनसमुदाय जोडिएका देखिन्छन् ।
दरबार क्षेत्रनजिकै वडा नम्बर- २ खौमास्थित इन्द्रायणी द्योछेँ (इन्द्रायणी देवी बस्ने घर) पुनर्निर्माणमा शुक्रबार पूर्वप्रतिनिधिसभा सदस्य प्रेम सुवाल पनि श्रमदान गरिरहेका देखिए । द्योछेँको छाना छाउने कार्य भइरहँदा दैनिक दुई सयजनाले श्रमदान गरिरहेकाे उपभोक्ता समितिका अध्यक्ष विनोदचरण राय बताउँछन् । ‘छाना छाउन अझै दुई दिन लाग्छ, यसका लागि मात्र एक हजारजनाको श्रमदान रहन्छ,’ उनले भने ।
धार्मिक एवं सास्कृतिक आस्थासँगै आफ्नो ठाउँ आफैँ बनाउने परम्परा र सचेतनाका कारण स्थानीय स्वस्फूर्त पुनर्निर्माणमा सहभागी भइरहेका पूर्वजनप्रतिनिधि रवीन्द्र खर्बुजाको भनाइ छ । जनश्रमदान मात्र होइन, स्थानीयले आफ्नो गच्छेअनुसार आर्थिक सहयोगको अवसर पनि गुमाउँदैनन् । नगरपालिकाको क्रमागत बजेटमा करिब दुई करोड लागत अनुमान गरिएको यो द्योछेँ पुनर्निर्माणमा स्थानीयले ५२ लाख रुपैयाँ चन्दा उपलब्ध गराएका स्थानीय वडासदस्य श्यामकुमार माताङले जानकारी दिए ।
स्थानीय सुनचाँदी व्यवसायीहरूसहितले पौने नाै तोला सुन दान गरेका छन् । सो सुनले द्योछेँँको गजुर, छाना र झ्यालमा सुनको जलप लगाइएको भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति बताउँछन् । ‘सुन किन्न नगरपालिकाले रकम दिने व्यवस्था नहुँदा स्थानीय आफैँले रकम जुटाए,’ उनले भने ।
प्रतिनिधिसभाका पूर्वसदस्य एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल विकासमा स्थानीय जनसहभागिता भक्तपुरबाट देशले सिक्नुपर्ने दाबी गर्छन् ।सरकारी बजेट कसरी खाने भन्ने सोच बढिरहेको वेलामा भक्तपुर नगरमा भने स्थानीयले श्रमदान र चन्दासमेत दिएर सरकारी बजेट बचाउने र किफायती ढंगले काम गर्ने गरेको उनकाे भनाइ छ ।
स्थानीय श्रम र साधनस्राेतको उपयोगमा जोड दिने र वैदेशिक सहयोग नलिने नगरपालिकाको नीतिलाई मन पराएर स्थानीयले साथ र सहयोग दिने गरेकाे उनले बताए । इन्द्रायणी द्योछेँ उपभोक्ता समितिले वैशाखभित्र पुनर्निर्माणको काम पूरा हुने जनाएको छ । भक्तपुर नगरलाई रक्षा गर्न अष्टमातृका (आठ मातृदेवी) मध्ये एक इन्द्रायणी देवीलाई राख्न करिब ३५० वर्षअघि यो मन्दिर स्थापना गरिएको अभिलेखहरूमा उल्लेख छ ।