सुन आयात ठप्प, बैंकमै थन्कियो डेढ सय केजी

आइतबार, १३ पुष, २०८२
डिजिटल संस्करण
  • मूल्य बढेर कारोबारमा शिथिलता आएपछि वाणिज्य बैंकहरूले गरेनन् मंसिरदेखि सुन र कात्तिकदेखि चाँदी आयात

मूल्य बढेर कारोबारमा शिथिलता आएपछि एक महिनादेखि नेपालमा सुन आयात ठप्प देखिएको छ । नेपालमा सुन आयात गर्ने अख्तियार वाणिज्य बैंकहरूलाई मात्रै छ । तर, बैंकहरूले गत मंसिरदेखि सुन आयात गरेका छैनन् । वाणिज्य बैंकहरूले सुन आयात गरेर व्यवसायीलाई बिक्री गर्छन् । भन्सार विभागको तथ्यांकअनुसार मंसिर महिनामा एक केजी मात्रै सुन आयात भएको छ  ।

चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा कुल नौ सय तीन केजी सुन आयात भएको छ । त्यसमा साउनमा एक सय केजी, भदौमा एक सय एक केजी, असोजमा चार सय केजी, कात्तिकमा तीन सय केजी सुन आयात भएको तथ्यांक छ । मंसिरमा बिहेको सिजन भएका कारण नयाँ सुनका गरगहनाको माग उच्च हुन्छ । तर, यसपालि मंसिरमा नै नयाँ सुनको माग न्यून भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष माणिकरत्न शाक्यले बताए । ‘अहिले सुनको मूल्य अत्यधिक बढेको छ । लगानीका हिसाबले सुनको माग बढेको छ । सुनका गरगहनाको माग नहुँदा व्यवसाय शिथिलजस्तै छ,’ उनले भने, ‘पहिला मंसिरमा सुनका गरगहनाको माग उच्च हुने गरेको थियो । तर, यसपालि ग्राहकले पुरानै सुन प्रयोग गरेका छन् । १० तोलाको गरगहना बनाउनुपर्ने ग्राहकले ६–७ तोला सुन पुरानै गरगहनाबाट ल्याउँछन् । बाँकी एक–दुई तोला भने नयाँ किन्छन् । त्यसले गर्दा पनि नयाँ सुन खपत न्यून छ ।’

पछिल्लो समय व्यवसायीले बैंकबाट सुन खरिद गर्न छाडेको उनले बताए । ‘अहिले सुनको माग छैन । त्यसपछि अहिले व्यवसायीले बैंकबाट सुन उठाउन पनि कम गरेका छन् । दिनमा एक–दुई केजी सुन मात्रै बैंकबाट खरिद गरिन्छ,’ उनले भने, ‘अहिले बैंकहरूमा एक सय ५० केजी सुन स्टक छ । तिहारपछि सुनको आयात भएको छैन ।’

तर, गत वर्षको तुलनामा ३८५.५४ प्रतिशतले बढी 
मंसिरमा सुन आयात नभए पनि पाँच महिनाको भित्रिएको सुन गत आवको सोही अवधिको भन्दा ३८५.५४ प्रतिशतले बढी हो । गत आवको पहिलो पाँच महिनामा एक सय ८६ केजी सुन आयात भएको थियो । चालू आव पहिलो पाँच महिनामा नौ सय तीन केजी सुन आयात भएको छ । गत आवमा सुनको मूल्य बढेपछि पहिलो पाँच महिना कारोबार पनि धेरै सुस्ताएको थियो, त्यसले गर्दा गत आवको समीक्षा अवधिमा सुनको आयात न्यून थियो । 

रकमका आधारमा समीक्षा अवधिमा १५ अर्ब ७२ करोड ११ लाख ५० हजार रुपैयाँको सुन आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ६७०.५५ प्रतिशतले बढेको छ । गत आवको पहिलो पाँच महिनामा दुई अर्ब चार करोड दुई लाख २७ हजार रुपैयाँको सुन आयात भएको थियो । मूल्य बढेपछि रकमका आधारमा वृद्धिदर बढी देखिएको हो । गत आवभर १७ अर्ब १२ करोड ८९ लाख ५० रुपैयाँबराबरको १३ सय ८९ केजी सुन आयात भएको थियो । आव ०८०/८१ मा २३ अर्ब ६५ करोड ३९ लाख १६ हजार रुपैयाँबराबरको २६ सय ५१ केजी सुन आयात भएको थियो ।

चाँदीको आयात पनि कात्तिकदेखि ठप्प
यता चाँदीको आयात भने कात्तिकदेखि नै ठप्प देखिएको छ । विभागको तथ्यांक कात्तिकमा दुई सय ग्राम मात्रै चाँदी आयात भएको छ । मंसिरमा चाँदी आयात नै भएको छैन । अहिले चाँदीको मूल्य पनि बढ्दो क्रममा छ । मूल्य बढेपछि यसको कारोबार पनि प्रभावित भएको छ । पछिल्लो समय केही व्यक्तिले लगानीकै रूपमा चाँदीको माग गर्ने गरेका छन् । चालू आवको पाँच महिनामा कुल एक हजार केजी तीन सय ३४ ग्राम चाँदी आयात भएको छ । त्यसमा साउनमा ३४ ग्राम र असोजमा एक हजार केजी १०० ग्राम चाँदी आयात भएको छ । तथ्यांकअनुसार गत भदौमा पनि चाँदी आयात भएको थिएन । गत आवको पाँच महिनामा एक केजी एक सय तीन ग्राम मात्रै चाँदी आयात भएको थियो । त्यसको तुलनामा भने चाँदीको आयात बढेको हो । 

रकमका आधारमा समीक्षा अवधिमा २० करोड १४ लाख ११ हजार रुपैयाँको चाँदी आयात भएको थियो । गत आवको पाँच महिनामा दुई लाख १० हजार रुपैयाँको चाँदी आयात भएको थियो । गत आवभर भने पाँच लाख ३० हजार रुपैयाँ रुपैयाँबराबरको झन्डै पाँच केजी मात्रै चाँदी आयात भएको थियो । मूल्य बढेकै कारण गत आवमा चाँदीको कारोबार प्रभावित भएको थियो । 

आव ०८०/८१ मा ११ करोड ६२ लाख २९ हजार रुपैयाँबराबरको १२ सय २४ केजी र आव ०७९/८० मा एक अर्ब ५१ करोड ८० लाख ७८ हजारबराबरको १५ हजार चार सय ३० केजी चाँदी आयात भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला दुई लाख ६९ हजार तीन सय र चाँदीको मूल्य प्रतितोला चार हजार पाँच सय ६५ रुपैयाँ तोकेको छ, जुन हालसम्मकै उच्च हो । 

See More On

सुझावित समाचार