सेनाले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा सरस्वती मावि दिक्तेल प्रथम

शनिबार, १२ पुष, २०८२
डिजिटल संस्करण

नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक खोटाङले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय दिक्तेल प्रथम भएको छ । मुडे ब्यारेकले ३०४ औँ पृथ्वी जयन्तीको अवसर पारेर शनिबार आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा जिल्लाका चारवटा माध्यमिक विद्यालयलाई पछि पार्दै सरस्वती मावि दिक्तेलले प्रथम उपाधि जितेको हो । 

जिल्लाका पाँचवटा माध्यमिक विद्यालयका विद्यार्थी सहभागी हाजिरीजवाफ प्रतियोगितामा माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालय दिक्तेल दोस्रो तथा दिक्तेल इंग्लिस आवासीय माध्यमिक विद्यालय दिक्तेल तेस्रो भएका छन् । प्रथम स्थान हासिल गर्ने सरस्वती मावि दिक्तेलले ३१०, दोस्रो हुने माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालय दिक्तेलले ३०५ र तेस्रो हुने दिक्तेल इंग्लिस आवासीय माध्यमिक विद्यालय दिक्तेलले २४५ अंक प्राप्त गरेको मुडे ब्यारेकले जनाएको छ । 

हाजिरीजवाफ प्रतियोगिताका विजयी विद्यालय तथा सहभागी विद्यार्थीलाई गणका गणपति प्रमुख सेनानी केदारप्रसाद लामिछानेले पुरस्कार प्रदान गरेका छन्। प्रतियोगिताका विजयी विद्यालय तथा विद्यार्थीलाई गणले पुरस्कार, प्रमाणपत्र र मेडल तथा सहभागी विद्यालयलाई सहभागिताको प्रमाणपत्र प्रदान गरेको छ । 

पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गणपति लामिछानेले विद्यार्थीलाई नेपाली सेनाको अनुशासन सिकाउन, मेहनत गर्ने वाणीको विकास गराउन तथा चाँडो निर्णय गर्ने क्षमताको विकास गराउने उद्देश्यले हाजिरीजवाफ प्रतियोगितामा सहभागी गराइएको जानकारी दिए । मुडेस्थित रणभीम गणको प्रांगणमा आयोजना गरिएको प्रतियोगितामा सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि, पत्रकारलगायतको उपस्थिति रहेको थियो । 

नेपाली सेनाले पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा पुर्याउनुभएको योगदानको कदर गर्दै हरेक वर्षको पुस महिनामा पृथ्वी जयन्ती मनाउने गरेको छ । महिना दिनसम्म मनाइने पृथ्वी जयन्तीको अवसरमा सेनाले विभिन्न कार्यक्रम गर्दै आएको छ । 

रणभीम गण मुडे ब्यारेकले यसअघि हलेँसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सरस्वती माध्यमिक विद्यालयमा फर्निचर निर्माण गरिदिएको छ भने, आगामी चैतमा साकेला गाउँपालिकामा स्वास्थ्य शिविर आयोजना गर्ने तयारी गरेको जानकारी दिएको छ । नागरिक र नेपाली सेनाबीचको सम्बन्ध थप प्रगाढ बनाउँदै बिपन्न समुदायमा जन्मिएका नागरिकलाई गाउँमै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गर्न लागिएको सेनाले जनाएको छ । 

See More On

सुझावित समाचार