पाँचदिने सेकाहा महोत्सव सुरु

शनिबार, १२ पुष, २०८२
डिजिटल संस्करण

पूर्वी पहाडी जिल्ला संखुवासभाको सौन्दर्यले भरिपूर्ण तथा पर्यटकीयस्थल खाँदबारी नगरपालिका–४ सेकाहामा ‘ऐतिहासिक सेकाहा महोत्सव–२०८२’ सुरु भएको छ। शुक्रबार एक समारोहका बिच खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले महोत्सवको पानसमा बत्ती बालेर उद्घाटन गरे । पर्यटकीस्थल सेकाहामा महोत्सवमा हुनु आफैँमा सकारात्मक पक्ष भएको बताउँदै यसको व्यापक प्रचारप्रसार गरि सेकाहालाई पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा मेयर थपलियाले जोड दिए । 

उद्घाटन कार्यक्रममा जनप्रतिनिधिहरू, राजनैतिक दल, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था प्रमुख तथा प्रतिनिधीहरु र संचारकर्मीहरुको सहभागिता थियो । ‘पुस ११–१५ खाँदबारी–४ सेकाहा जाऔं, ऐतिहासिक सेकाहा महोत्सवलाई भब्यताका साथ मनाऔं’ भन्ने नारासहित ‘ऐतिहासिक सेकाहा महोत्सव–२०८२’ आयोजना गरिएको हो।

महोत्सवमा  सेकाहा रंगशाला उद्घाटन तथा जग्गादाताहरुलाई सम्मान, अन्तरपालिकास्तरीय भलिवल प्रतियोगिता, पर्यटकीय क्षेत्र सेकाहा गाउँको अवलोकन, पर्यटन प्रवर्द्धन तथा होमस्टे अवलोकन, विभिन्न जातजातिहरुको सांस्कृतिक झाँकी प्रदर्शनी, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी, जिल्लाभरका गुरुङ जातिहरु भेला ल्होसार पर्व मनाउने र त्यसका साथै अन्य विभिन्न खेलकुद कार्यक्रमहरु जस्तै : हाफ म्याराथुन, छेलो हान्ने, डोरी तान्ने, हाँडी फुटाउने, मेच घुमाई, हाक्पारे लोकगीत प्रतियोगिता र नृत्य प्रतियोगिता रहेको आयोजक सेकाहा क्लबका अध्यक्ष मनिराज गुरुङले बताए ।

सुझावित समाचार