युरोपसम्म नेपाली कफीको सुगन्ध

शनिबार, १२ पुष, २०८२
डिजिटल संस्करण
युरोपसम्म नेपाली कफीको सुगन्ध

पाँचथरको फिदिम नगरपालिका– ५ मा लगाइएको कफी खेती

  • कोशीका १४ मध्ये १२ जिल्लामा उत्पादन भएको कफी युरोपसम्म निर्यात हुँदा किसानको आम्दानीमा पनि उल्लेख्य सुधार, फस्टाउँदो ‘कफी कल्चर’का कारण उत्पादन बढिरहेकाले गुणस्तरमा थप ध्यान दिएर निर्यात बढाउन व्यवसायीको सुझाव

कोशीका पहाडी बस्तीमा उत्पादित कफीको सुगन्ध युरोपसम्म पुग्न थालेको छ । केही वर्षअघिसम्म बारीका डिलमै सीमित कफी अहिले कोशी प्रदेशको पहाडी भूभागमा विस्तार हुँदै छ । र, यहाँ उत्पादित कफीको स्वाद जर्मनी, फ्रान्सदेखि पोल्यान्डका कफी कपहरूमा पनि मिसिन थालेको छ । 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालको कफी युरोपियन देशसँगै जर्मनी, फ्रान्स, पोल्यान्डलगायतका देशमा निर्यात हुँदै आएको छ । आर्थिक वर्ष ०८१/८२ मा नेपालबाट ११ करोड ४३ लाख ७० हजार रुपैयाँको ६३ हजार नौ सय ९८ केजी कफी अन्तर्राष्ट्रिय बजारमा निर्यात भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको सम्भावना र चुनौती दुवै रहेको जोयल हिमालय कफी विङ्स प्रालि इलाम र कफी निर्यात गर्दै आएको जोयल हिमालय प्रोडक्ट प्रालिका सञ्चालक तथा कफीको बजारबारे अध्ययन गर्दै आएका विनायक मल्लले बताए । पोल्यान्डमा विद्यावारिधि गरिरहेका उनले नेपाली कफीको बजार विस्तार गर्दै आएका छन् । 

नेपाली कफी विदेशमा निर्यात हुने मात्र होइन, विदेशी कफी पनि नेपालमा आयात हुँदै आएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार आर्थिक वर्ष ०८१/८२ मा मात्र १४ करोड ४१ लाख २० हजार मूल्यको दुई लाख ३३ हजार दुई सय ६ केजी कफी नेपालमा आएको थियो । चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म मात्रै एक करोड २० लाख ५१ हजार मूल्यबराबरको ८९ हजार ६२८.६ केजी कफी पूर्वीनाका काँकडभिट्टाबाट आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ । 

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका अनुसार कोशी प्रदेशमा बर्सेनि कफी उत्पादन बढ्दै गएको छ । आर्थिक वर्ष ०८१/८२ मा देशभर ६४१.९ टन ग्रिन विन कफी उत्पादन हुँदा कोशीमा मात्र १२८.६ टन छ ।

दक्ष जनशक्तिको अभाव, अर्गानिक प्रमाणपत्र लिन पनि समस्या
नेपालमा कफी खेतीको सम्भावना रहे पनि दक्ष जनशक्तिको अभाव छ । कोशीमा कफी खेती बढ्दै गए पनि दक्ष जनशक्तिको अभाव देखिएको पाँचथरमा व्यावसायिक कफी खेती गर्दै आएका कुवापानी कफी स्टेट एन्ड रिसर्च सेन्टर प्रालि र एसएस एग्रोका सञ्चालक वसन्त रिजालले बताए । त्यसबाहेक नेपालमा कफीको अर्गानिक प्रमाणपत्र दिँदा संस्था नरहँदा पनि अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न समस्या रहेको उनले बताए ।

‘कफी मजदुरकेन्द्रित उत्पादन हो । नेपालमा दक्ष जनशक्ति त छैन नै । भएको जनशक्ति पनि विदेश जाँदा मजदुर नै पाउन मुस्किल छ,’ उनले भने, ‘नेपालमा अर्गानिक प्रमाणपत्र नपाउँदा अन्तर्राष्ट्रिय संस्थाको भर पर्नुपर्छ । जसका लागि सुरुमै १५ लाखसम्म खर्च हुन्छ । बर्सेनि नवीकरण गर्दा ६ लाखसम्म खर्च हुन्छ । यसका लागि २० हेक्टरमा खेती गर्नेले मात्र सक्ने अवस्था छ । साना किसानले प्रमाणपत्र लिन सक्ने अवस्था छैन ।’ अर्गानिक प्रमाणित गर्नका लागि सरकारले नै सहयोग गर्नुपर्ने उनले बताए । 
 

See More On

सुझावित समाचार