प्रधानमन्त्री सुशीला कार्कीले शनिबार प्रमुख तीन दलका शीर्ष नेताहरूसँग चुनावी तयारी, सरकारले गरिरहेका काम र दलहरूसँगको अपेक्षामाथि केन्द्रित रहेर छलफल गर्दै छिन् । यही सन्देशसहित मन्त्री जगदीश खरेल शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास पुगेका थिए ।
‘प्रधानमन्त्रीले राजनीतिक भेटवार्तालाई प्रत्यक्ष र तीव्र बनाइराख्नुभएको छ । वन–टु–वन भेट, शीर्ष तहको छलफल, युवा, जेन–जी प्रतिनिधि, सुरक्षा निकाय र निर्वाचन आयोगसँग निरन्तर संवाद भइरहेको छ । प्रधानमन्त्रीको स्पष्ट चाहना र दृढता २१ फागुनमै निर्वाचन सम्पन्न गर्ने हो,’ प्रधानमन्त्रीले राखेको शीर्ष छलफलबारे मन्त्री खरेलले भने ।
प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार चुनावी वातावरण बनाउने सरकारको प्राथमिकतालाई ध्यानमा राखेर प्रवक्ता खरेलले शीर्ष नेताहरूसँग भेटवार्ता गरेका हुन् ।
यसअघि मंगलबार राष्ट्रपति कार्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेताहरूबिच चुनावी वातावरण बनाउने समझदारी जुटेको थियो । त्यसका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीले विस्तृत छलफल राख्ने समझदारी बनेको थियो ।
‘निर्वाचन दूत’को दौडधुप, ओलीको स्थानहद हट्न सक्ने
चुनावी संशय हटाउने उद्देश्यसहित सरकारका ‘निर्वाचन दूत’का रूपमा सक्रिय सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार प्रमुख दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सन्देश बोकेर भेट गरेका मन्त्रीले एमाले अध्यक्ष केपी ओलीको स्थानहद हटाएर चुनावका लागि विश्वासिलो वातावरण बनाउन सकिने संकेत दिएका छन् । प्रधानमन्त्री कार्कीले चुनावी वातावरण बनाउनकै लागि छलफल गर्न लागेको सन्देश बोकेर खरेल शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको निवास पुगेका थिए ।
ओलीसँग गुनडुस्थित निवासमा भेट गरेपछि खरेलले सरकार सबै प्रकारका अल्झन, बल्झन, अप्ठ्यारा र चुनौती हटाउँदै निर्वाचनको गन्तव्य सुनिश्चित गर्ने तयारीमा रहेको बताए ।
ओलीसँगको भेटपछि सञ्चारकर्मीहरूले स्थानहद हटाउने मागबारे सरकारको धारणा के हो भन्ने प्रश्न गर्दा मन्त्री खरेलले सरकारले त्यसतर्फ सोचिरहेको स्पष्ट संकेत गरे । ‘निर्वाचन महायज्ञ हो । यसको आसपास रहेका अल्झन, बल्झन, अप्ठ्यारा, चुनौती र समस्याहरू हटाएर निर्वाचनको गन्तव्यमा पुग्ने वातावरण बनाउने दायित्व सरकारको हो,’ खरेलले भने ।
एमालेजस्तो प्रमुख दलका अध्यक्षले चुनावी वातावरण र सुरक्षा चुनौतीबारे सुझाव दिनु स्वाभाविक र सकारात्मक भएको भन्दै सरकार त्यस्ता सुझाव स्वीकार गर्दै वातावरण निर्माणमा केन्द्रित हुने स्पष्ट पारे । ‘एमालेजस्तो महत्वपूर्ण दलको अध्यक्षले नै सुरक्षा चुनौती छ, चुनावी वातावरण बनाइनुपर्छ भन्नुभएको छ भने त्यो जायज कुरा हो,’ उनले भने, ‘निर्भय र निष्पक्ष चुनावका लागि सुरक्षाको वातावरण बनाउन सरकार प्रतिबद्ध छ ।’
मन्त्री खरेलले यसअघि कांग्रेस सभापति शेरबहादुर देउवालाई महाराजगन्जस्थित निवासमा भेटेका थिए । त्यसपछि उनले एमाले अध्यक्ष ओली र अन्त्यमा नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए । कांग्रेस सभापति देउवाले आफ्नो पार्टीको प्राथमिकता संसद् पुनर्स्थापना नभएर चुनाव भएको प्रस्ट्याएको र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले पनि २१ फागुनको चुनावको विकल्प नभएकाले सघाउने प्रतिबद्धता जनाएको खरेलको दाबी छ ।
‘शेरबहादुर देउवाले कांग्रेसको प्राथमिकता निर्वाचन नै हो, संसद् पुनर्स्थापना होइन भन्नुभएको छ,’ खरेलले भने, ‘कांग्रेसले निर्वाचन समयमै सम्पन्न गर्न आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । प्रचण्डले पनि निर्वाचनको विकल्प नभएकाले जसरी पनि २१ फागुनमै चुनाव हुनुपर्छ भन्ने दोहोर्याउनुभएको छ ।’