नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्मरणपत्र बुझाएका छन्। तोकिएको मितिमा १५औँ महाधिवेशन सम्पन्न गर्ने नियत नदेखिएको भन्दै विशेष महाधिवेशन पक्षधरहरूले शुक्रबार खड्कालाई स्मरणपत्र बुझाएका हुन्।
नेताहरुले कार्यवाहक सभापतिलाई विधानले तोकेको समयसीमा २०८२ मंसिरभित्र महाधिवेशन गर्न अथवा पार्टी विधानको धारा १७ (२)बमोजिम विशेष महाधिवेशन आह्वान गर्न २४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित गत असोज २९ गते पार्टी केन्द्रीय कार्यलयमा निवेदन दर्ता गरेको स्मरण गराएका छन्।
‘पार्टीले तय गरेको १५औँ महाधिवेशनको कार्यतालिका प्रथम दृष्टिमै अविश्वसनीय हुँदाहुँदै पनि केन्द्रीय कार्यसमिति आफैँले गर्न सक्छौँ भनिसकेपछि शंकाको सुविधासहित केही हप्ता हेर्याैँ, पर्खियौँ। तर, अब आएर पार्टीको लामो केन्द्रीय कार्यसमिति बैठक तथा त्यसपछिका घटनाक्रमहरूले स्पष्ट पुष्टि गरिसकेका छन् कि विधानबमोजिम तोकिएको अवधिभित्र १५औँ महाधिवेशन सम्पन्न गर्ने कुनै गम्भीर प्रयास वा नियत भएको देखिएन, पाइएन,’ पत्रमा भनिएको छ।
विशेष महाधिवेशन प्रतिनिधिको विशेष वैधानिक अधिकार रहेको उल्लेख गर्दै नेताहरूले विधानबमोजिम विशेष महाधिवेशनको मिति र स्थान तोक्ने निर्णय गर्न र अविलम्ब विशेष महाधिवेशन प्रक्रिया अगाडि बढाउन माग गरेका छन्।
‘हामी पुनः स्पष्ट पार्न चाहन्छौँ विशेष महाधिवेशन, महाधिवेशन प्रतिनिधिको विशेष वैधानिक अधिकार हो। विधानले तोकेको समयसीमा तीन महिना अर्थात् २०८२ पुस २८ भित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नैपर्छ,’ पत्रमा भनिएको छ।
