ताप्लेजुङको फक्तालुङ गाउँपालिका– ६, पिपलचोकमा निर्माणाधीन तमोर फाइभ हाइड्रोपावरमा दुर्घटना हुँदा एक मजदुरको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।
आयोजनाको आउटलेट सुरुङमा काम गरिरहेका वेला माथिबाट ढुंगा खस्दा दैलेखको गुराँस गाउँपालिका– ३ निवासी चन्द्रबहादुर शाहीका २४ वर्षीय छोरा भद्रबहादुर शाही गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि आधारभूत अस्पताल तापेथोक लगिएको भए पनि बिहान साढे ९ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनामा बर्दियाको मधुवन नगरपालिका– ४ निवासी तोपबहादुर खड्काका ३३ वर्षीय छोरा आकाश खड्काको दाहिने खुट्टा भाँचिएको छ। घाइते खड्कालाई आधारभूत अस्पताल तापेथोकमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ रेफर गरिएको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। मृतक शाहीको शव पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी तापेथोकबाट प्रहरी सहायक निरीक्षक पर्शुराम राउतको नेतृत्वमा टोली घटनास्थलमा खटिएको थियो। साथै, थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक आशिष पोखरेलको कमान्डमा थप टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकी तापेथोकबाट करिब तीन किलोमिटर उत्तरतर्फ पर्छ। घटनाबारे थप अनुसन्धान जारी छ।