धनकुटा नगरपालिका क्षेत्रभित्रका विद्यालयनजिक मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाइएको छ।
विद्यालयआसपास मदिराजन्य पदार्थ बिक्री–वितरण गरिएको भन्दै धनकुटा– ५ तल्लोकोप्चेस्थित गोकुण्डेश्वर बालमन्दिरका विद्यार्थीले गुनासो गरेपछि जिल्ला प्रहरी कार्यालयले विद्यालयआसपास मदिराजन्य पदार्थ बिक्री–वितरण गर्न रोक लगाएको हो। प्रशासनको निर्णय अटेर गरे कानुनबमोजिम कडा कारबाही गर्ने प्रहरीले चेतावनी दिएको छ।
कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी विनोद घिमिरेले जिल्ला प्रहरी कार्यालयको अनुगमन गर्ने क्रममा आयोजित अन्तर्क्रिया कार्यक्रममा विद्यार्थीहरूले विद्यालयपरिसरमा सञ्चालित कतिपय किराना पसल तथा क्यान्टिनमा खुला रूपमा सुर्तीजन्य पदार्थ बेचबिखन गर्दै आएको गुनासो गरेका थिए। विद्यार्थीहरूको गुनासो सुनेसँगै प्रहरीलाई उक्त कार्यको तत्काल अनुगमन गरी रोक लगाउन मातहत प्रहरीलाई डिआइजी घिमिरेले निर्देशन दिएका थिए।
डिआइजी घिमिरेको निर्देशनपश्चात् जिल्ला प्रहरी कार्यालयको सक्रियतामा धनकुटा प्रहरीले माइकिङ गर्दै विद्यालयआसपास दुई सय मिटरवरपर सुर्तीजन्य पदार्थ बिक्री नगर्न आग्रह गरेको छ। विद्यार्थीहरूको गुनासो आएसँगै विद्यालयवरिपरि सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री नगर्न सचेत गराएको जिल्ला प्रहरी कार्यालयका एसपी शरदकुमार थापा क्षेत्रीले बताए। यसको पूर्णरूपमा कार्यान्वयन नगरे कानुनबमोजिम कडा रूपमा कारबाही गरिने पनि उनले बताए।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ अनुसार सार्वजनिक स्थलहरूमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन र बिक्री–वितरण गर्न पाइँदैन। सोहीअनुरूप धनकुटा प्रहरीले सो कार्यलाई सफल बनाउन माइकिङ गरी सचेत गराएको छ।