एउटै घरका दाजु–बहिनी फरक–फरक राजनीतिक दलबाट समानुपातिक उम्मेदवार

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण

नेपाली सांगीतिक जगतकी चर्चित गायिका सत्यकला राई र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता खगेन्द्र राई एउटै घरका दाजु–बहिनी हुन् । ऐँसेलुखर्क गाउँपालिका– ७, माक्पा स्थायी घर भएका दाजु–बहिनी खगेन्द्र र सत्यकला आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा फरक–फरक राजनीतिक दलबाट समानुपातिक उम्मेदवार बनेका छन् ।  

चर्चित गायिका सत्यकलाकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट तथा खगेन्द्रकाे एमालेबाट समानुपातिक उम्मेदवारको रूपमा खोटाङबाट नाम सिफारिस गरिएको सम्बन्धित राजनीतिक दलले जानकारी दिएको छ । सयौँ चर्चित नेपाली गीतमा स्वर दिइसकेकी  गायिका सत्यकलालाई रास्वपा खोटाङले समानुपातिकतर्फको प्रारम्भिक उम्मेदवारको सूचीमा १ नम्बरमा समावेश गरेको हो । 

प्रत्यक्षतर्फको उम्मेदवारको नाम भने केही दिनपछि टुंग्याउने गरी समानुपातिकतर्फको नाम मात्र सिफारिस गरिएको रास्वपा खोटाङका जिल्ला सभापति मुकुन्दकृष्ण थापाले जानकारी दिए । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पार्टीले प्रत्यक्षतर्फका उम्मेदवार छनोटको प्रक्रियासमेत अगाडि बढाएको रास्वपाले जनाएको छ ।

यसअघिसम्म कुनै पनि राजनीतिक दलमा नखुलेकी गायिका सत्यकलालाई रास्वपाले समानुपातिक उम्मेदवारको सूचीमा राखेपछि चुनावी अभियानमा सक्रिय भएर जुटेकी छिन् । गायिका सत्यकलाका श्रीमान् वि.सं. २०७४ सालमा सम्पन्न संविधानसभा सदस्यको निर्वाचनमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) खोटाङको तर्फबाट समानुपातिक उम्मेदवार बनेका थिए ।  

सत्यकलाका सहोदर दाजु खगेन्द्र करिब ४० वर्षदेखि एमालेको सक्रिय राजनीतिमा छन् । एमालेका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका समानुपातिक उम्मेदवार खगेन्द्र भर्खरै सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा भने पराजित भएका थिए ।  
 

सुझावित समाचार