एकै खेलमा पाँच रातो कार्ड

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण
  • खेलको ८८औँ मिनेटमा विवाद हुँदा श्री भगवतीका तीन तथा प्लानिङ ब्वाइजका दुई खेलाडीले व्यहोरे रातो कार्ड

प्लानिङ ब्वाइज युनाइटेड र श्री भगवती क्लब टोखाबिच बिहीबार भएको एन्फा यू–१६ युथ लिगमा पाँचजना खेलाडीले रातो कार्ड पाएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रतिस्पर्धाको ८८औँ मिनेटमा प्लानिङ र भगवतीका खेलाडीबिच विवाद भएको थियो । दुई पक्षका खेलाडीबिचको विवादका कारण खेल केही मिनेट रोकिएको थियो । 

भगवतीका अनिल गुरुङले गोल गरेपछि सेल्भम केसी प्लानिङको गोल पोस्टमा बल लिन पुगेका थिए । प्लानिङका गोलरक्षकले उनलाई बल छुन दिएनन् । सेल्भमले बल लैजाने प्रयास गरेका थिए । प्लानिङका गोलरक्षकले भने समय कटाउन सेल्भमलाई बल दिएनन् । त्यसपछि दुवै टोलीका खेलाडीबिच भनाभन भएको थियो । दुई पक्षका खेलाडीबिच धक्कामुक्का पनि भयो । खेलका रेफ्रीले स्थिति नियन्त्रणमा लिन कोसिस गरिरहेका थिए । 

सुरक्षाकर्मी र अफिसियलको प्रयासपछि श्री भगवती र प्लानिङ ब्वाइजका खेलाडी नियन्त्रणमा आएका थिए । खेल भावनाविपरीत काम गरेका भगवतीका तीन र प्लानिङका दुई खेलाडीले रातो कार्ड पाए । भगवतीका दीपेश गुरुङ, अनिल गुरुङ र आर्यन भण्डारीले रातो कार्ड व्यहोरेका थिए । प्लानिङका हेमन्त महतो र सेल्भम केसीले रातो कार्ड पाए । रातो कार्ड पाउनुअघि अनिलले श्री भगवतीका लागि पहिलो गोल गरेका थिए । खेल सकिन दुई मिनेटअघिको तनावपूर्ण खेलमा प्लानिङले ४–१ ले बाजी मारेको थियो । प्लानिङलाई जित दिलाउने क्रममा ओम खड्काले दुई गोल गरे । प्रशान्त तामाङ र प्रकाश बुढाथोकीले समान एक गोल गरे । यसअघि १७औँ मिनेटमा ओमले प्लानिङलाई १–० को अग्रता दिलाए । खेलको ३५औँ मिनेटमा उनले नै टोलीलाई २–० को स्थितिमा राखे । 

पहिलो हाफमा प्लानिङले दुई गोल मात्र गरेको थियो । खेलको ७५औँ मिनेटमा प्रशान्तले प्लानिङलाई ३–० को बलियो अवस्थामा पुर्याए । खेलको ७९औँ मिनेटमा प्रकाशले गोल गरेपछि प्लानिङले ४–० को अग्रता लियो । जितसँगै प्लानिङले लिगमा १४ अंक बनाएको छ । श्री भगवतीको भने ३० अंक छ ।

आर्मीको पोस्टमा संकटाको चार गोल
यू–१६ लिगअन्तर्गत बुधबारको अर्को खेलमा संकटा क्लबले विभागीय टोली त्रिभुवन आर्मीमाथि ४–० को जित निकालेको छ । संकटाका लागि करण भुलले ह्याट्रिक गरेका थिए । 

पेम्बा तामाङको नाममा एक गोल रह्यो । खेलको १३औँ मिनेटमा करणले संकटालाई १–० अग्रता दिलाए । खेलको २४औँ मिनेटमा उनले दोस्रो गोल गरे । उनले खेलको अन्तिम इन्जुरी समयमा ह्याट्रिक गर्दा संकटा ४–० ले विजयी भयो । खेलको ८६औँ मिनेटमा पेम्बाले संकटालाई ३–० को बलियो स्थितिमा राखेका थिए । जितसँगै संकटाले लिगमा ४७ अंक जोडेको छ । संकटाले २४ खेलमा १४ जित, समान पाँच बराबरी र हार नतिजा निकालेको छ । आर्मीले १४ अंक जोडेको छ । 

सुझावित समाचार