- एक लाखभन्दा बढी बचत रहेका २७४ को पनि तीन महिनाभित्र फिर्ता गर्ने
- रकम फिर्ता गर्ने सहमतिमा एक महिनाअघि हिरासतबाट छुटेका थिए सहकारीका सञ्चालक
पोखराको नयाँबजारस्थित पोखरा बचत तथा ऋण सहकारीले पहिलो चरणमा एक लाखभन्दा कम बचत रहेका ३५० जनाको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गर्ने भएको छ । जायजेथाबाट भए पनि रकम फिर्ता गर्ने सहमतिमा प्रहरी हिरासतबाट छुटेका अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित आठ सञ्चालक एवं कर्मचारीले आइतबारदेखि रकम फिर्ता गर्न लागेका हुन् ।
कास्की प्रहरीले सहकारीका अध्यक्ष गोदार, उपाध्यक्ष शम्भुराज बाँस्तोला, सचिव दिलबहादुर केसी, कोषाध्यक्ष एवं ऋण संयोजक हिरामणि दाहाल, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, सञ्चालक समिति सदस्य दोर्जे तामाङ, पूर्वसचिव इन्द्रप्रसाद द्वा र बजार प्रमुख एवं सुपरभाइजर बेदीप्रसाद सुवेदीलाई तीन महिनाभित्र बचत फिर्ता गर्ने र प्रत्येक साता गरेको कामको प्रतिवेदन प्रहरीलाई बुझाउने सर्तमा मुद्दा नचलाई १४ मंसिरमा रिहा गरेको थियो । उनीहरू १९ कात्तिकमा पक्राउ परेका थिए ।
अध्यक्ष गोदारका अनुसार पहिलो चरणमा एक लाखभन्दा कम बचत रहेका सबै ३५० बचतकर्ताको रकम फिर्ता भएपछि दोस्रो चरणमा अन्यको रकम फिर्ता हुनेछ । एक लाखभन्दा बढी बचत फिर्ता गर्नुपर्नेको संख्या २७४ रहेको गोदारले बताए । उनीहरूलाई फिर्ता गर्नुपर्ने रकम करिब ३६ करोड ५० लाख हुनेछ । एक लाखसम्मको बचत फिर्तापछि अरू रकम पनि केही महिनाभित्र फिर्ता गरिसक्ने उनले बताए ।
सहकारीको समस्या समाधानका लागि २ पुसमा सञ्चालक, सेयरधनी र बचतकर्ताको भेला पनि भइसकेको छ । भेलाले बचतकर्ता गञ्जमान गुरुङको संयोजकत्वमा सञ्चालक, सेयरधनी सबैको प्रतिनिधि समेटेर यसअघि गठन भएको समस्या समाधान तथा समन्वय समितिलाई पारित गरेको थियो । सोही समितिले सहकारीको बन्द रहेको खाता सञ्चालन गर्ने निर्णयपछि साना बचतकर्ताको रकम फिर्ता गर्न लागिएको संयोजक गुरुङले बताए । हाल सहकारीमा चार करोड ५० लाख नगद मौज्दात रहेकामा त्यसमध्ये एक करोड बाह्य ऋण र करबापत १८ लाख तिर्न बाँकी रहेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीले पनि प्रतिबद्धताअनुसार रकम फिर्ताको प्रक्रिया सुरु भएको बताए । तर, यसबारे प्रहरीले निगरानी गरिरहेको उनले बताए । ‘हिनामिना भएको रकम तीन महिनाभित्र तिर्ने ग्यारेन्टीमा आठजनालाई छाडिएको हो । यही तरिकाले सञ्चालकहरूले रकम फिर्ता थालेमा समस्या समाधान हुन्छ । तर, यदि प्रतिबद्धता पूरा नभए मुद्दा दर्र्ता र कानुनी कारबाही अगाडि बढाउने बाटो खुला नै हुन्छ ।’
आठ करोड रकमका चेक बाउन्स, १२ करोडको धितो लिलामी प्रक्रियामा
अध्यक्ष गोदारका अनुसार सहकारीमा विभिन्न प्रयोजनबापत तिर्नुपर्ने रकम चेकमार्फत बुझाएकाले प्राप्त आठ करोडको चेक बाउन्स भएको छ । तिर्नुपर्ने रकम भन्दै चेक दिएका, तर खातामा आवश्यक रकम नभएर नसाटिएका ( बाउन्स भएका) चेक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको उनले बताए ।
त्यस्तै, सहकारीबाट ऋण लगे पनि भाका नाघेका र किस्ता नतिरेकालाई पत्राचार गरिएको छ । ‘सम्पर्कमा आएका केहीले रकम तिरेका छन्, केहीले भाका मागेका छन्,’ उनले भने, ‘सम्पर्कमा नआएका र आलटाल गर्नेले ऋण लैजाँदाका बखत राखेको धितो लिलामीका लागि प्रक्रिया सुरु भएको छ ।’ धितो लिलामी गर्दा १२ करोड रकम असुल हुने गोदारले बताए ।