धनगढी बजारको दशरथ–भीम उद्यान (पार्क)तिर जाने सडकको प्रवेशद्वारको बोर्डमा लेखिएको छ– जेन–जी मार्ग । पार्कमोड नामले परिचित यो सडकको चिनारी हिजोआज फेरिएको छ । मुख्य बजारदेखि पार्क, रंगशाला हुँदै सहिद गेट–शिवनगर सडकसम्म जोड्ने मार्गलाई नगरवासीले अहिले जेन–जी मार्गका नामले चिन्न थालेका छन् । सहिद गेट–क्याम्पसरोड सडक खण्डअन्तर्गत हसनपुरबाट मुख्य बजारतर्फको प्रवेश विन्दुमा पनि जेन–जी मार्गको बोर्डसहित उस्तै प्रवेशद्वार बनाइएको छ ।
७६ जनाको ज्यान जाने गरी गत २३ र २४ भदौमा भएको जेन–जी विद्रोहपछिको परिस्थिति सामान्यउन्मुख हुँदै थियो । १ असोजमा धनगढी उपमहानगरका मेयर गोपाल हमालले सामाजिक सञ्जालमार्फत आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्र्दै पार्कमोडदेखि रंगशाला हुँदै जोड्ने सडकलाई जेन–जी मार्ग नामकरण गरिने घोषणा गरे । औपचारिक निर्णयका लागि यससम्बन्धी प्रस्ताव कार्यपालिका बैठकमा लैजाने जानकारी दिँदै उनले यो सडकलाई जेन–जी मार्ग नाम प्रयोग नगरवासीलाई आह्वानसमेत गरे । सहिदको सम्मानमा सडकको नामाकरणलाई सामाजिक सञ्जालमा धेरैले समर्थन पनि जनाए । कार्यपालिकाको १० असोजको बैठकले जेन–जी मार्ग नामाकरण गरेपछि उपमहानगरले यो क्षेत्रमा जेन–जी मार्ग लेखिएका बोर्ड राखेको छ ।
करिब ६/७ सय मिटर दूरीको जेन–जी मार्गले मुख्य बजारदेखि पार्कको गेट, रंगशाला हुँदै सहिद गेट–क्याम्पसचोक सडकलाई छुन्छ । बजारको प्रवेशद्वारदेखि पार्कको गेटसम्म सडकको दुवैतर्फ पुटपाथसहित बस्नका लागि सिमेन्टका बेन्च बनाइएका छन् । पार्कअगाडिको पिपलचोकदेखि उत्तरको सडकमा लगाइएका फूलका बोट, भित्तामा कोरिएका सांस्कृतिक चित्रले सडकलाई आकर्षक बनाएको छ ।
स्मार्ट स्ट्रिट लाइटले रातिको समयमा यो मार्ग झिलिमिली हुन्छ, जहाँ हरेक शनिबार साँझ जेन–जी युवाकै अगुवाइमा भजन–कीर्तन गरिन्छ । असोजको पहिलो शनिबारबाट युवाले स्वतस्फूर्त रूपमा पार्क गेटअगाडि भजन–कीर्तन कार्यक्रम सुरु गरेका हुन् । तन्नेरीदेखि बुढापाका भजन–कीर्तन गाएर नाच्छन् ।
‘आन्दोलनले जेन–जी युवा हिंसामा उत्रिए भन्ने सन्देश पनि गयो । युवाहरू सत्कर्म, भक्तिमार्गमा पनि छन् भन्ने सन्देश समाजलाई दिन भजन–कीर्तन सुरु गरेका हौँ,’ जेन–जी युवा लवदेव धामी भन्छन्, ‘भजन–कीर्तन कार्यक्रममा अहिले युवादेखि बुढापाका पनि आउन थालेका छन् ।’ अध्यात्मतिर केन्द्रित गरेर युवालाई लागुऔषधजस्ता कुलतबाट बचाउनु पनि यसको उद्देश्य रहेको उनको भनाइ छ ।
जेन–जी मार्ग नामाकरणले जेन–जी आन्दोलनलाई सम्मान गर्नुका साथै सहादतको इतिहासलाई स्मरणीय बनाउने युवाहरू बताउँछन् । जेन–जी मार्ग भावी पिँढीले जेन–जी आन्दोलनलाई सम्झिने र चिनाउने माध्यम बन्ने धामीको विश्वास छ । ‘जेन–जी मार्ग भावी पुस्ताले जेन–जी आन्दोलनको बलिदानी सम्झने माध्यम बन्ला । यसले जेन–जी आन्दोलनको इतिहास बचाइराख्न मद्दत पुग्छ,’ उनी भन्छन् ।
युवा चन्द्रकला खाती जेन–जी मार्ग नामाकरण सहिदप्रतिको सम्मान र आन्दोलनको पहिचान भएको बताउँछिन् । जेन–जी मार्गले जेन–जी आन्दोलनलाई भविष्यमा पनि स्मरण गराउने उनको भनाइ छ । ‘देशमा यति ठुलो आन्दोलन र बलिदानी भयो । जेन–जीकै नाममा सडकको नामाकरण बलिदानी दिएकाप्रति सम्मान हो । पछिसम्म पनि आन्दोलन स्मरण गर्ने माध्यम बन्ने छ,’ जेन–जी मार्गनजिकै व्यवसाय गर्दै आएकी उनले भनिन् ।
मुख्य बजार क्षेत्र र बजारको वैकल्पिक मार्गका रूपमा रहेको सहिद गेट–क्याम्पसचोक सडकलाई जोड्ने जेन–जी मार्गमा हरेक शनिबार महिला उद्यम मेला लाग्दै आएको छ । उपमहानगरले महिलालाई व्यापार, व्यवसायमा प्रोत्साहन गर्न गत वर्षबाट सुरु गरेको मेलामा महिलाले आफूले उत्पादन गरे घरेलु उत्पादन, खाना तथा खाजाका मौलिक परिकारहरू बिक्री गर्छन् ।
गौरवको स्मृतिमा राखियो गौरवमार्ग
जेन–जी विद्रोहका क्रममा धनगढी–५, तारानगरका २३ वर्षीय गौरव जोशीले काठमाडौंमा सहादत प्राप्त गरे । बानेश्वरमा २३ भदौमा भएको प्रदर्शनको क्रममा गोली लागेर उनको निधन भएको थियो । गौरवको स्मृतिमा तारानगरस्थित उनको घरअगाडिको बाटोलाई गौरवमार्ग नामाकरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी कैलालीको कार्यालय, गौरवको घर हुँदै शारदा माविसम्मको सडकलाई वडा कार्यालयले गौरवमार्ग नामाकरण गरेको हो । गौरवको बलिदानी सधैँ स्मरणीय रहोस् भनेर गौरव मार्ग नामाकरण गरिएको वडाध्यक्ष गजेन्द्र शाहीले बताए । गौरवको स्मृतिमा स्थानीयले धनगढी दशरथ भीम उद्यानअगाडि असोजमा श्रद्धाञ्जली सभा गरेका थिए । घरको एक्लो छोराको निधनले सहाराविहीन बनेका ७६ वर्षीय वासुदेव छोराको बलिदानप्रति गर्व गर्छन् । छोराको सालिक बनाउने उनको योजना छ ।
मेयर गोपाल हमालले सिंगो पुस्ताले गरेको विद्रोहको बलिदान चिरस्मरणीय होस् भनेर जेन–जी मार्ग नामाकरण गरिएको बताए । सहिद गौरव जोशीको स्मृतिमा वडाले पनि गौरव मार्ग नामाकरण गरेको उनको भनाइ छ । नामाकरण सहिद र आन्दोलनको सम्मानसँगै भावनासँग जोडिएको विषय पनि भएको उनले बताए । ‘जेन–जी विदेश जाने प्रवृत्ति बढी थियो । अब यहीँ गर्नुपर्छ भन्ने भावनाले उनीहरू लडे । यसको मतलब उनीहरूले अब हामी यहीँ बस्छौँ भनेका हुन्,’ हमालले भने, ‘देशमै बसेर केही गर्छौँ भन्ने भावनाले भ्रष्टाचार, बेथितिविरुद्ध लडेर सहादत प्राप्त गरेका युवाहरूको सम्मान खोजेका हौँ । जेन–जी आन्दोलनमा सुदूरपश्चिमभरिबाट ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली दिने एउटा ठाउँ पनि भयो ।’
मुलुकमा व्याप्त भ्रष्टाचार, बेथिति र कुशासनविरुद्ध गत २३ र २४ भदौमा जेन–जी युवाले देशभर आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा ७३ जनाले ज्यान गुमाए भने सयौँ घाइते भए । आन्दोलनका बलमा सरकार ढल्यो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनिन् । सरकारले हालै जेन–जी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिएको छ । आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ४५ जनालाई सहिद घोषणा गरिएको छ । धनगढीको आन्दोलनमा मानवीय क्षति भएन । तर, आन्दोलनका क्रममा २४ भदौमा धनगढीमा स्वास्थ्यका बाहेक जिल्ला प्रशासनसहित सबैजसो सरकारी कार्यालयहरू जलाइए ।
जिल्लाका धेरैजसो पालिका र वडा कार्यालयहरू जलाइँदा धनगढी बजार छेउमै रहेको धनगढी उपमहानगरको कार्यालयमा भने आन्दोलनकारी प्रवेश गरेका थिएनन् । उपमहानगरका १९ मध्ये १७ वटा वडा कार्यालय सुरक्षित रहे । सुशासन, विकास, सेवा प्रवाहजस्ता विषयमा नगरपालिकाले धेरै हदसम्म जनभावनाअनुसार काम गरेकाले उपमहानगर आन्दोलनकारीको निसानामा नपरेको धेरैको बुझाइ छ । मेयर हमाल भने यो यहाँका जनताले मूल्यांकन गर्ने विषय भएको बताउँछन् । ‘जनताको सेवामै रातदिन खटिरहेको छु । आफूले सकेजति जनपक्षीय काम गरेजस्तो लाग्छ,’ उनी भन्छन्, ‘कति गर्न सकियो जनताले नै मूल्यांकन गर्ने हो ।’ जेन–जी आन्दोलनमा धनगढीका धेरैजसो कार्यालयमा आगजनी हुँदा उपमहानगरका कार्यालय भने नगरवासीले नै जोगाएको उनले बताए ।