प्रेरक प्रसंग : गुण र प्रतिभाको कदर

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण

एकपटक एकजना चित्रकार सम्राट् नेपोलियन बोनापार्टलाई भेट्न उनको निवासमा गए । ती चित्रकारले लगाएका लुगा सफा थिएनन् । नेपोलियनले चित्रकारले फोहोर लुगा लगाएको देखेर उनको खासै आदर गरेनन् । उनलाई नजिक नबसाली एकातिर अलि टाढै बस्ने आदेश दिए । उनीहरूबिच कुराकानी सुरु भयो । कुराकानी हुँदै जाँदा नेपोलियनले उनी एक बडो कुशल चित्रकार हुन् भन्ने बुझे ।

किनकि, छोटो कुराकानीबाटै उनी व्यक्तिको प्रतिभा र क्षमताको परख गर्न सजिलै सक्थे । केही समयको कुराकानीपछि ती चित्रकार बिदा भएर जान लागे । त्यसपछि नेपोलियन आफ्नो आसनबाट जुरुक्क उठे र उनीसँग बडो आत्मीयतापूर्वक हात मिलाएर उनलाई बिदा गरे । साथै, उनी ती चित्रकारलाई ढोकासम्म पुर्याउन आफैँ गए ।

नेपोलियनको यस प्रकारको आदर सत्कार देखेर चित्रकारलाई बडो आश्चर्य लाग्यो । मनको खुल्दुली मेटाउन उनले डराउँदै–डराउँदै सम्राट् नेपोलियनसँग सोधे, ‘रिसानी माफ रहोस् सम्राट् । मलाई एउटा कुराको बडो खुल्दुली भइरहेको छ । म यो खुल्दुली मेटेर मात्र हजुरसित बिदा हुन चाहन्छु । जतिखेर म भित्र आएको थिएँ, त्यतिखेर हजुरले मलाई आफ्नो नजिक बस्नसमेत दिनुभएन । अब अहिले जाने वेलामा भने तपाईं मलाई यहाँसम्म पुर्याउन आउनुभएको छ, यसको कारण के हो ?’ उनको जिज्ञासा सुनेर नेपोलियनले मुस्कुराउँदै भने, ‘आउने वेलामा कुनै व्यक्तिलाई जुन आदर गरिन्छ, त्यो उसको पोसाक र बाहिरी आवरण हेरर गरिन्छ । तर, जाने वेलामा जुन आदर गरिन्छ, त्यो भने उसको गुण र प्रतिभा देखेर गरिन्छ ।’

सुझावित समाचार