बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले १३औँ स्थापना दिवस मनाएको छ। गौतम बुद्ध सामुदायिक स्वास्थ्य संस्थाको १३औँ वार्षिक साधारणसभा एवं मुटु अस्पतालको १३औँ स्थापना दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा अस्पतालको आफ्नै भवन निर्माणका लागि जग्गाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ।
जग्गा प्राप्तिका लागि अस्पतालले विगतदेखि प्रयास गरे पनि सार्थकता पाउन सकेको छैन। अस्पतालमा बिरामीको चाप बढ्दै गएको र सामुदायिक अस्पताल भएकाले अस्पतालका लागि सरकारी तहबाट यथेष्ट सहयोग हुनुपर्ने कार्यक्रमका सहभागीहरूले जोड दिएका छन्।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष एजाज आलमले अस्पताल स्थापनापछि पाँच लाखले सेवा लिएको बताए। उनले अस्पतालको भवन निर्माणका लागि पहल गरिरहे पनि सार्थक बन्न नसकेको बताए। उनले जग्गाको व्यवस्थापन सरकारी तहबाट भए भवन निर्माण गरी सेवा थप गर्न सहज हुने धारणा राखे।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारूले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउनुपर्ने जोड दिए। उनले आगमी वर्षको बजेटबाट सेवा प्रदायक स्वास्थ्य संस्थालाई सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। लुम्बिनी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखे पनि बजेट नदिँदा स्वास्थ्य क्षेत्रमा परिणामुखी उपलब्धि हासिल हुन नसकेको बताए। अर्का पूर्वस्वास्थ्यमन्त्री विष्णु पन्थीले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन राज्यले लगानी गर्नुपर्ने बताए।