क्रिप्टोकरेन्सी कारोबारको आरोपमा कपिलवस्तुबाट दुई भारतीय पक्राउ

बिहिबार, १० पुष, २०८२
डिजिटल संस्करण

कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ स्थित हम्बल होटेलबाट क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा)को कारोबार गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन्।

प्रहरीले सुराकीका आधारमा छापा मारेर भारतको महाराष्ट्र राज्यअन्तर्गत मुम्बई मलाड इस्ट, कुलार भिलेज पिपरी पाडाचौलनिवासी २१ वर्षीय सुनील सिंह र उत्तर प्रदेश लखनउ मणिगाउँनिवासी २४ वर्षीय उज्जल सिंहलाई पक्राउ गरेको  हो।

पक्राउ परेका दुवैजनाको साथबाट क्रिप्टोकरेन्सी कारोबारसँग सम्बन्धित आवश्यक सामग्रीहरू फेला परेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए। उनीहरूको साथबाट ४ थान मोबाइल फोनसमेत बरामद गरिएको छ।

घटनासम्बन्धी थप अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक सिंहले बताए।

सुझावित समाचार