- मोरङको केराबारी गाउँपालिकालाई करदाता सेवा कार्यालयको काम हस्तान्तरण, सुरु भयो प्यान वितरण
स्थानीय तहबाटै करदाता सेवा सुरु भएको छ । मोरङको केराबारी गाउँपालिकाले स्थायी लेखा नम्बर (प्यान) वितरण गरेर करदाता सेवा सुरु गरेको हो ।
अर्थ मन्त्रालयले करदाता सेवा कार्यालयको काम स्थानीय तहलाई हस्तान्तरण गर्ने नीति लिएको छोटो समयमै कार्यान्वयन थालिएको हो । बुधबार केराबारी गाउँपालिकाबाट पहिलो व्यावसायिक प्यान नम्बर दी भ्वाइस क्याफे एन्ड रेस्ट्रो र व्यक्तिगत प्यान चित्रकुमार तामाङलाई प्रदान गरिएको थियो ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा गाउँपालिका र आन्तरिक राजस्व कार्यालय, विराटनगरबिच समझदारीपत्रमा हस्ताक्षर भई सेवा कार्यालयको काम हस्तान्तरण गरिएको थियो । सो अवसरमा गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगरले राजस्व प्रणालीमा स्थानीय तहको प्रभावकारी भूमिका स्थापना हुने बताए ।
अर्थमन्त्री खनालले प्रशासनिक संघीयतामा ऐतिहासिक कदम भएको टिप्प्णी गरे । उनले कर प्रशासनको कामलाई विकेन्द्रित गर्दै प्रशासनिक संघीयतालाई थप मजबुत बनाउन सहयोग पुग्ने बताए । उनले करदातालाई सहजता तथा कर भुक्तानीको लागत र समय घट्ने बताए ।
त्यस्तै, विकृत व्यवहार कम हुने, स्थानीय सरकारको ‘आयस्रोत’ सक्षमता करको आधारमा वृद्धि हुने, सुशासन प्रवद्र्धन कायम गर्ने दिशामा उक्त कदम फलदायी हुने अर्थमन्त्री खनालले बताए ।