त्रिविको ५१औँ दीक्षान्त समारोह आज : २४ विद्यार्थीले पाउँदै छन् सर्वोत्कृष्ट पदक

बिहिबार, १० पुष, २०८२
डिजिटल संस्करण

त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदै छ । समारोहमा कुलपति तथा प्रधानमन्त्री सुशीला कार्की, भौतिकशास्त्रमा नोबेल पुरस्कार विजेता जापानको टोकियो विश्वविद्यालयका ताकाआकी काजिता उपस्थित हुँदै छन् । दीक्षान्त समारोहमा २४ विद्यार्थीले सर्वोत्कृष्ट पदक पाउँदै छन् । समारोहमा १६ हजार ३८० विद्यार्थी सहभागी हुनेछन् । 

त्रिविले समारोहमा विद्यार्थीको भिड हुने भएकाले तह, संकाय र विषयअनुसार रंगशालामा विद्यार्थीको सिट प्लानिङ गरेको छ । सर्टिफिकेट वितरणका लागि पनि तह, विषय, विभाग र संकायअनुसार व्यवस्था गरिएको त्रिविका उपकुलपति प्राडा दीपक अर्यालले जानकारी दिए । उनका अनुसार यस वर्ष स्नातक तहदेखि पिएचडीसम्म ८९ हजार १९९ विद्यार्थी उत्तीर्ण भए पनि निकै कमले फाराम भरेका थिए । अर्को वर्ष त्रिविले प्रादेशिक तहमै दीक्षान्त समारोह गर्ने योजनासमेत बनाएको छ । त्रिवि परीक्षा नियन्त्रक कार्यालयका सहकन्ट्रोलर कविराज पोखरेलका अनुसार समारोहमा बाहिरी तथा पास नभएका व्यक्तिलाई रोकिनेछ । ‘दीक्षान्त समारोहमा विद्यार्थीलाई सहज होस् भनेर ठाउँ विभाजन गरेका छौँ,’ उनले भने, ‘सर्टिफिकेट वितरण गर्ने ठाउँ पनि व्यवस्थित छ ।’ 

एउटै विद्यार्थीले पाउँदै छन् तीनवटासम्म पदक 

फाइल तस्बिर/नयाँ पत्रिका

दीक्षान्त समारोहमा यसपटक एकजना विद्यार्थीले तीनवटा र दुईजनाले दुई–दुईवटा पदक पाउँदै छन् । कतिपयले विषय, संकाय र विभाग टप गरेपछि एउटै विद्यार्थीले तीनवटासम्म पदक लिन लागेका हुन् । यसपटक तीनवटा पदक पाउनेमा बुटवल बहुमुखी क्याम्पसबाट अर्थशास्त्र विषयमा स्नातकोत्तरमा सर्वप्रथम (३.७७ सिजिपिए) भएका कमल पौडेल छन् । उनलाई तारापद चौधरी स्वर्ण पदक, खगेन्द्रमानसिंह प्रधान र चन्द्रराज ढुंगेल स्मृति पुरस्कार प्रदान गरिँदै छ । दुई पदक पाउनेमा राजनीतिक शास्त्र केन्द्रीय विभागकी प्रतिभा पौडेल छिन् । उनलाई ललित चन्द पुरस्कार र बडाकाजी मरिचमान सिंह पुरस्कार प्रदान गरिँदै छ । उनले ३.७९ सिजिपिए ल्याएका छिन् । दुईवटा पदक पाउनेमै फुर्वा शेर्पा छन् । उनलाई भ्वाइथ सत्य माँ स्मृित स्वर्ण पदक र भाइस चान्सलर पदक प्रदान गरिँदै छ । 

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ सहिद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक व्यवस्थापन संकायअन्तर्गत एमफिल तहमा सर्वोत्कृष्ट अंक (३.९४ सिजिपिए) प्राप्त गरेका विशाल जोशीलाई प्रदान गरिने भएको छ । इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत एमबिए तहमा सर्वोत्कृष्ट अंक ल्याएकी रक्षा भेटुवाललाई प्रदान गरिँदै छ । उनले ९.३३ सिजिपिए ल्याएकी छिन् । मदन विद्या वातावरण विज्ञान पदक र पुरस्कार वातावरण विज्ञान केन्द्रीय विभागमा एमएस्सी वातावरण विज्ञान विषयमा प्रथम भएकी निरु बस्नेतले पाउने भएकी छिन् । उनले प्राप्त गरेको सिजिपिए ३.९२ रहेको छ । नेबैंली सरदार गुञ्जमानसिंह स्वर्ण पदक एमबिएसमा उत्कृष्ट भएका शंकरदेव क्याम्पसका सुनील पुडासैनीलाई प्रदान गरिँदै छ । उनले ३.८२ सिजिपिए ल्याएका छन् । रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार सरस्वती बहुमुखी क्याम्पसबाट एमबिएसमा ३.७९ सिजिपिए ल्याएकी समिता महर्जनले पाउँदै छिन् । 

रुद्रकुमारी घिमिरे स्मृति पदक काठमाडौं कलेज अफ साइन्स एन्ड टेक्नोलोजीबाट माइक्रोबायोलोजीमा एमएस्सी टपर रवीन्द्र पण्डितलाई प्रदान गरिँदै छ । उनले ३.७६ सिजिपिए प्राप्त गरेका छन् । यसपटकको डा. दुवसु क्षेत्री स्वर्ण पदक त्रित्रि कीर्तिपुर अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा स्नातकोत्तर तहमा ३.७९ ल्याउने सुजन लामिछानेलाई प्रदान गरिँदै छ । शान्तिनारायण मिश्र पदक पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागबाट स्नातकोत्तर तहमा पुस्तकालय विज्ञान विषयमा ३.७३ सिजिपिए प्राप्त गरेकी रस्मिता कार्कीले पाउँदै छिन् । त्रिवि पत्रकारिता विभाग टपर अनुशा रोकालाई नारायण शान्ति मिश्र पदक प्रदान गरिँदैं छ । उनले ३.७३ सिजिपिए ल्याएकी छिन् । यसपटकको सुमन रिजाल पदक समाजशास्त्र केन्द्रीय विभाग विश्वविद्यालय क्याम्पस कीर्तिपुरबाट स्नातकोत्तर तह टपर सौरभ कोइरालालाई प्रदान गर्न लागिएको छ । उनले सबैभन्दा धेरै ३.७० सिजिपिए ल्याएका छन् । रामविक्रम/शान्ता सिजापति पदक भाषाविज्ञान केन्द्रीय विभागमा स्तानकोत्तर तह टपर आर्यान भट्टराईलाई प्र्रदान गरिँदै छ ।  प्रीतम चित्रकार पुरस्कार नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्टबाट स्नातक तहमा होटेल म्यानेजमेन्ट टपर उबेन्द्रकुमार तामाङलाई प्रदान गर्न लागिएको छ ।  

लोकराज ज्ञवाली पदक र पुरस्कार नेपाल ल क्याम्पसबाट बिएएलएलबीमा उत्कृष्ट (सिजिपिए ३.८०) भावना अधकारीलाई प्रदान गरिँदै छ । त्यस्तै, शिवराज पन्त स्मृति पुरस्कार ख्वप: कलेज अफ इन्जिनियरिङबाट स्नातक तहमा उत्कृष्ट (८६.०६ सिजिपिए) ल्याउने गौरव भुसाललाई प्रदान गरिँदै छ । नेबैंली छत्रबहादुर पदक मकवानपुर बहुमुखी क्याम्पसबाट बिबिएसमा उत्कृष्ट अन्वेश पोखरेललाई प्रदान गरिँदै छ । त्यस्तै, टीकाबल्लभ डिलकुमारी घिमिरे स्मृति पदक सेन्ट जेभियर्स कलेजबाट बिएस्सी माइक्रोबायोलोजी विषयमा उत्कृष्ट अग्रनी पौडेलले प्राप्त गर्दै छिन् । उनले ८४ सिजिपिए ल्याएकी छिन् । यस वर्षको ज्ञानप्रसाद पुरस्कार स्नातक तह (बिए)मा उत्कृष्ट सुभाषी कार्कीले पाउने भएकी छिन् । 

सुझावित समाचार