सुर्तीजन्य पदार्थ सेवनले लाग्ने रोगबाट वर्षमै गुमाए ३९ हजार नेपालीले ज्यान

९० प्रतिशत क्यान्सर सुर्तीजन्य पदार्थ सेवनकै कारण, उपचार हुने सरकारी अस्पताल तीनवटा मात्रै, तर तीनवटैमा छैन क्यान्सरको विस्तृत अवस्था पत्ता लगाउने पेटस्क्यान सेवा

बिहिबार, १० पुष, २०८२
डिजिटल संस्करण
  • राज्यले सुर्तीजन्य पदार्थबाट उठाउने राजस्वभन्दा दोब्बर खर्च यसको सेवनबाट लाग्ने रोगको उपचारमा गर्छ, वर्षमै सकिन्छ ५५ अर्ब 

सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनमा सरकारको भूमिका फितलो हुँदा यसको सेवनबाट लाग्ने रोगका कारण वर्षमै ३९ हजार नागरिकले ज्यान गुमाएका छन् । यति मात्रै होइन, सुर्तीजन्य पदार्थ सेवनबाट लाग्ने रोगको उपचारमा राज्यको मात्र वार्षिक ५५ अर्ब खर्च हुने गरेको छ, जुन यसको राजस्वबाट हुने आम्दानीभन्दा दोब्बर हो ।

स्वास्थ्य मन्त्रालयले संकलन गरेको आँकडाअनुसार सुर्तीजन्य पदार्थ सेवनबाट लाग्ने रोगका कारण मृत्यु हुनेको संख्या बर्सेनि बढ्दो दरमा छ । सन् २०२४ मा ३९ हजार दुई सयको ज्यान जाँदा त्यसअघि सन् २०२२ मा २८ हजार ११० को मृत्यु भएको थियो । त्यस्तै, सन् २०१९ मा २४ हजार आठ सय, सन् २०१८ मा २७ हजार २३७ जनाको मृत्यु भएको थियो । वर्षैपिच्छे अध्ययन नभए पनि नेपालमा सुर्तीजन्य पदार्थ सेवनबाट लाग्ने रोगका कारण बर्सेनि ३९ हजारले ज्यान गुमाउँछन् । स्वास्थ्य मन्त्रालयले सन् २०२४ मा संकलन गरेको आँकडाअनुसार नेपालमा सन् २०२४ मा ३९ हजार दुई सयको सुर्तीजन्य पदार्थ सेवनबाट लाग्ने रोगका कारण मृत्यु भएको थियो । त्यसअघि मन्त्रालयले नै गरेको अध्ययनअनुसार २०२२ मा २८ हजार ११०, सन् २०१९ मा २४ हजार आठ सय, सन् २०१८ मा २७ हजार २३७ जनाको सुर्तीजन्य पदार्थ सेवनका कारण लाग्ने रोगबाट मृत्यु भएको थियो । केही वर्षको अन्तरमा हुँदै आएको अध्ययनमा मृत्यु हुनेको संख्या बढ्दै गएको देखिएको छ ।

सुर्तीजन्य पदार्थको सेवनले एकातिर अकालमा ज्यान गएको छ, अर्कोतिर यसको सेवनबाट लाग्ने रोगको उपचारमा राज्यको तर्फबाट मात्रै वार्षिक ५५ अर्ब खर्च हुने गरेको छ । यो सरकारले सुर्तीजन्य पदार्थ सेवनका कारण लाग्ने विभिन्न जटिल रोगका लागि दिने नि:शुल्क औषधोपचार, बिमालगायतको खर्च हो  । यसमा व्यक्तिको तर्फबाट हुने निजी खर्च जोडिएको छैन । 

‘सुर्तीजन्य पदार्थ सेवनबाट लाग्ने क्यान्सर, टिबी, दीर्घरोगलगायतमा सरकारले वार्षिक औसत ५५ अर्ब खर्च गर्छ । क्यान्सरमध्ये ९० प्रतिशत त सुर्तीजन्य पदार्थ सेवनका कारणले नै हुन्छ । यसमा पनि मुख र फोक्सोको क्यान्सर बढी हुनुको कारण सुर्तीजन्य पदार्थको प्रयोग हो,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘सुर्तीजन्य पदार्थबाट प्राप्त हुने राजस्वभन्दा यसको सेवनबाट लाग्ने रोगको उपचारमा राज्यले गर्ने खर्च दोब्बरभन्दा धेरै छ ।’ 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०२४ मा तयार पारेको तथ्यांकअनुसार नेपालमा सुर्तीजन्य पदार्थ सेवन गर्ने ६८ लाख ८० हजार व्यक्ति छन् । सुर्तीजन्य पदार्थमा हुने निकोटिनको लतका कारण युवाहरू कडा लागुपदार्थको सेवनमा समेत फस्ने गरेको डा. बुढाथोकी बताउँछन् । यसले सोच्न सक्ने क्षमता, यौन क्षमता र रोगप्रतिरोधी क्षमतामा ह्रास ल्याउने उनी बताउँछन् । 

आन्तरिक राजस्व विभागका अनुसार सुर्तीजन्य पदार्थबाट ०८१/८२ मा २७ अर्ब ७१ करोड राजस्व संकलन भएको थियो । त्यसअघि ०८०/८१ मा २६ अर्ब ६२ करोड, ०७९/८० मा २२ अर्ब २२ करोड, ०७८/७९ मा २४ अर्ब ५६ करोड, ०७७/७८ मा २० अर्ब ३८ करोड, ०७६/७७ मा १८ अर्ब ५५ करोड र ०७५/७६ मा १५ अर्ब १२ करोड राजस्व संकलन भएको थियो । सुर्तीजन्य पदार्थको प्रयोग बढेसँगै उत्पादन र आयात बढ्दा राजस्व दरसमेत बढेको हो । तर, सुर्तीजन्य पदार्थबाट धेरै नै राजस्व संकलन हुन्छ भने पनि त्यसको उत्पादन र आयात बढाएर नागरिकको स्वास्थ्य बिगार्नु गम्भीर गल्ती हुने स्वास्थ्यका अधिकारीहरूको चिन्ता छ । 

पछिल्ला वर्षहरूमा सुर्तीजन्य पदार्थको बिक्री–वितरण बढेको र युवाहरूमा भेपको सेवन बढेको स्वास्थ्य मन्त्रालयका कर कोष सचिवालयका उपसचिव गोपीकृष्ण रेग्मी बताउँछन् । ‘अहिले हामीले सुर्ती उद्योगहरूलाई र बिक्री–वितरण गर्नेलाई बढी निगरानी गरिरहेका छौँ । तर, उद्योगहरू स्वास्थ्य मन्त्रालयमातहत नपर्ने भएकाले हामीले सिधै बन्द गराउन सक्दैनौँ । अर्थ र उद्योग मन्त्रालयलाई आग्रह गर्दा कार्यान्वयन हुन सकेको छैन,’ उनले भने, ‘सुर्ती उद्योगहरूले कानुनको छिद्र हेरेर फाइदा उठाइरहेका छन् । युवालाई सुर्तीजन्य पदार्थ सेवनको सुरुवात गराउन सके दीर्घकालीन व्यापार हुन्छ भनेर उद्योगहरू लागिरहेका छन् । यो गम्भीर विषय हो ।’ 

नेपालमा सन् २०२२ मा एक हजार ३८२ टन सुर्तीजन्य पदार्थ उत्पादन भएकामा सन् २०२४ मा एक हजार ८८६ टन सुर्तीजन्य पदार्थ उत्पादन भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुंगाना सुर्तीजन्य उद्योगहरूले नियोजित रूपमा काम गरिरहेकाले त्यसलाई रोक्न सरकारी संयन्त्रहरू सक्रिय हुनुपर्ने बताए । ‘सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगहरू सरकारभन्दा एक कदम अघि छन्, उनीहरूले नियोजित रूपमा स्वार्थ राख्दै विभिन्न संयन्त्र परिचालन गरिरहेका छन्,’ उनले भने, ‘उनीहरूको हस्तक्षेप रोक्न उद्योग, अर्थ र स्वास्थ्य मन्त्रालयले मिलेर काम गर्न जरुरी छ ।’ 

हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनबाट मृत्यु हुनेको संख्या बढ्दै गए पनि सरकार गम्भीर नबनेकामा सरोकारवालाको चिन्ता छ । भाइटल स्ट्राटेजिज एसिया प्रशान्त क्षेत्रका निर्देशक डा. तारासिंह बम नीति निर्माण गर्ने तहमा बस्नेबाटै समस्या भएको बताउँछन् । 

‘सुर्तीजन्य पदार्थबाट हरेक वर्ष मृत्यु हुने नेपालीको दर बढ्दो छ, तर हाम्रो नीति निर्माण तहमा बस्नेहरूले यसलाई निकै हल्का रूपमा लिएको पाइन्छ,’ उनले भने, ‘युवाहरू सुर्तीजन्य पदार्थको सेवनमा मस्त छन्, अकालमा ज्यान गुमाउँदै छन्, स्वास्थ्य बिमाको ठुलो रकम सुर्तीजन्य पदार्थ सेवनले सिर्जित स्वास्थ्य समस्यामा खर्च भइरहेको छ । देशको आर्थिक वृद्धिदरमा समेत यसले असर पारिरहेको छ । तर, राज्यले सुर्तीजन्य उद्योगहरूलाई उल्टै पोसिरहेको छ ।’ 

दक्षिण एसियाका अधिकांश मुलुकले सुर्तीजन्य पदार्थ नियन्त्रणमा राम्रा कदम चाले पनि नेपालले कानुन बनाएर पनि कार्यान्वयन नगरेको डा. बमको भनाइ छ । ‘छिमेकी मुलुकमा सुर्तीजन्य पदार्थसम्बन्धी कानुन कार्यान्वयनको अवस्था राम्रो छ, तर हामीकहाँ कानुन बनाए पनि पालना निकै कमजोर छ, नीति निर्माण तहमै बस्नेहरू यस्ता उद्योगको पक्षमा छन्, उनीहरूले नै उद्योगीको हितमा काम गरिरहेका छन्,’ उनले भने, ‘तर, सुर्तीजन्य उद्योगका कारण स्वास्थ्य क्षेत्रका भइरहेको नोक्सानी हेर्न र आकलन गर्न सरकारले सकेको छैन । प्रत्येक पाइला पाइलामा सुर्तीजन्य उद्योगहरूले सरकारका व्यक्तिलाई प्रभावमा पारिरहेका छन्, अझ स्वास्थ्य मन्त्रालयकै व्यक्तिहरू सुर्ती उद्योगहरूको पक्षमा लागेको पनि देखिन्छ ।’ 

नेपालमा वार्षिक थपिन्छन् ४५ हजार क्यान्सर रोगी : प्रवक्ता बुढाथोकी
स्वास्थ्य मन्त्रालयका अनुसार क्यान्सरका बिरामीमध्ये ९० प्रतिशतलाई सुर्तीजन्य पदार्थ सेवनका कारणले नै हुने गरेको छ । अझ मुख र फोक्सोको क्यान्सरको मुख्य कारण नै सुर्तीजन्य पदार्थ सेवन हो । तर, क्यान्सरको उपचार हुने सरकारी अस्पताल भने देशभर तीनवटा मात्रै छन् । भक्तपुर क्यान्सर अस्पताल, चितवनमा भरतपुर क्यान्सर अस्पताल र नेपालगन्जमा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले मात्रै छन् । यी अस्पतालले मात्रै देशभरका बिरामीको चाप थेग्न सकेका छैनन् । त्यसपछि बिरामी निजीमा गएर लाखौँ खर्च गर्न बाध्य छन् । अस्पताल र उपचार क्षमता कमजोर हुँदा कतिपय बिरामीले भारतका अस्पतालमा पुगेर उपचार गराएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा वार्षिक ४५ हजार क्यान्सरका बिरामी थपिन्छन् । 

अझ दयनीय त यो छ कि तीनवटै अस्पतालमा क्यान्सरको विस्तृत अवस्था पत्ता लगाउने पेटस्क्यान सेवा छैन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पनि यो सेवा छैन । केही निजी अस्पतालमा मात्रै छ । नत्र नमुना भारतमै पठाउनुपर्छ । ‘क्यान्सरको उपचार हुने तीनवटै अस्पतालमा क्यान्सर कति फैलिएको छ लगायत विस्तृत अवस्था पत्ता लगाउन चाहिने पेटस्क्यानको सेवा छैन,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘जेनेटिक क्यान्सर पत्ता लगाउने उपकरण त झन् नेपालमै छैन, यसका लागि चाहिने ल्याब ल्याउन चीन सरकारले सहयोग गर्ने भनेको छ ।’

भाइटल स्ट्राटेजिज एसिया प्रशान्त क्षेत्रका निर्देशक डा. तारासिंह बम भन्छन्–राज्यले सुर्तीजन्य उद्योगहरूलाई उल्टै पोसिरहेको छ

सुर्तीजन्य पदार्थबाट हरेक वर्ष मृत्यु हुने नेपालीको दर बढ्दो छ, तर हाम्रो नीति निर्माण तहमा बस्नेहरूले यसलाई निकै हल्का रूपमा लिएको पाइन्छ । युवाहरू सुर्तीजन्य पदार्थको सेवनमा मस्त छन्, अकालमा ज्यान गुमाउँदै छन्, स्वास्थ्य बिमाको ठुलो रकम सुर्तीजन्य पदार्थ सेवनले सिर्जित स्वास्थ्य समस्यामा खर्च भइरहेको छ । देशको आर्थिक वृद्धिदरमा समेत यसले असर पारिरहेको छ । तर, राज्यले सुर्तीजन्य उद्योगहरूलाई उल्टै पोसिरहेको छ ।

छिमेकी मुलुकमा सुर्तीजन्य पदार्थसम्बन्धी कानुन कार्यान्वयनको अवस्था राम्रो छ, तर हामीकहाँ कानुन बनाए पनि पालना निकै कमजोर छ, नीति निर्माण तहमै बस्नेहरू यस्ता उद्योगको पक्षमा छन्, उनीहरूले नै उद्योगीको हितमा काम गरिरहेका छन् । तर, सुर्तीजन्य उद्योगका कारण स्वास्थ्य क्षेत्रका भइरहेको नोक्सानी हेर्न र आकलन गर्न सरकारले सकेको छैन । प्रत्येक पाइला–पाइलामा सुर्तीजन्य उद्योगहरूले सरकारका व्यक्तिलाई प्रभावमा पारिरहेका छन्, अझ स्वास्थ्य मन्त्रालयकै व्यक्तिहरू सुर्ती उद्योगहरूको पक्षमा लागेको पनि देखिन्छ ।

सुझावित समाचार