अर्थ तथा सामान्य प्रसाशनमन्त्री रामेश्वर खनालले तोकिएकै सयममा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने बताएका छन् ।
बुधबार विराटनगरमा टे«ड एक्सपोको उद्घाटन गर्दै मन्त्री खनालले तोकिएको समय २१ फागुनमा निर्वाचन सम्पन्न भए मात्र उत्पन्न राजनैतिक संकट अन्त हुने बताएका छन् । उनले सरकार निर्वाचन सफल बनाउन अग्रसर भएर लागि परेको प्रष्ट पारेका छन् ।
‘तोकिएको समयमा निर्वाचन हुन सक्दैन, सुरक्षाकर्मीहरूको मनोबल गिरेको छ, वातावरण तयार भएको छैन भन्ने केवल हल्लाहरू मात्रै हो । प्रहरीको मनोबल उच्च बनाएर अनुकुल वतावरण सृजना गरि समयमा निर्वाचन गराउन सरकारले कुनै कसर बाँकी राख्दैन,’ उनले भने ।
तोकिएको समयमा निर्वाचन नभए देश फेरि अनिष्टमा जाने जोखिम उच्च रहेको उनको भनाइ छ । मन्त्री खनालले भने, ‘२३ र २४ भदौको घटना हुन्छ भनेर कतै हल्ला भएको थिएन् तर भएरै छाड्यो यसैले हल्लाकै कारण निर्वाचन रोकिँदैन बरु पहिलेकै जस्तो अवस्था आउनेगरि सरकार चाँहि चुक्नु हुँदैन ।’
प्राकृतिक कारणले असर परे हिमाली जिल्लाका केही निर्वाचनस्थलहरू अन्यत्र सारेर पनि निर्वाचन सम्पन्न गर्ने योजनामा सरकार रहेको मन्त्री खनालले जानकारी गराए । उनले अन्तरिक रुपमा मतदान गर्ने व्यवस्था सरकारले मिलाउने तर विदेशमा मतदान गर्ने सुनिश्चिताबारेमा सरकारले अभैm तयारी गरि नसकेको बताए ।
आगामी निर्वाचनमा नागरिकहरुलाई ‘नो भोट’ को अधिकार दिलाउन सरकारले सोची रहेको तर यकिन भैनसकेको प्रष्ट पारे । मन्त्री खनालले भने, ‘नागरिक सरकारलाई अध्यादेशबाट देश चलाउने लालसा छैन । निर्वाचन सम्पन्न भएर देशले नयाँ संसद पाएमात्र स्थिरताका लागि कानुनहरू निर्माण गर्न सकिन्छ ।’