उदयपुरमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार ७ र ९ पुसमा त्रियुगा नगरपालिकाका तीन वडामा क्षति पुर्याएको हो ।
त्रियुगा नगरपालिका–५, बेलचौरी, वडा नम्बर ६, मोहनपुर र वडा नम्बर ७, चकलघाटस्थित जंगलबाट आएका हात्तीले १२ घर भत्काउनुका साथै अन्नपात, खानेपानीको पाइपसमेत नष्ट गर्दा एक लाख ४० हजारको क्षति पुर्याएको दोङको भनाइ छ ।
दोङले त्रियुगा नगरपालिका–५, बेलचौरीकी रेवती सदाको घरमा भत्काउँदा १० हजारको क्षति, यसैगरी बृहस्पती सदाको पाँच हजार, सोही स्थानकै विजय सदाको दुई हजारको क्षति, यसैगरी गणेशबहादुर बुढाथोकीको घर भत्काउँदा एक हजारको क्षति भएको छ । रुद्र पोखरेलको पाँच हजार क्षति, सोही स्थानकै विष्णु भुजेलको एक हजारको क्षति भएको छ । साथै, मनकुमारी राईको ५० हजार बराबरको धनमाल क्षति भएको छ ।
यता, त्रियुगा नगरपालिका–६ मोहनपुरकी बिन्दा परियारको २० हजार, त्रियुगा नगरपालिका–७ चकलघाट बस्ने नर्बदा कार्कीको आठ हजार, मानबहादुर बिकको १२ हजार, गंगामाया कार्कीको १० हजार, राजन कार्कीको १६ हजारको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।