कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले फागुन २१ गते तोकिएको मितिमा निर्वाचन हुने विषयमा अझै शंका रहेको बताएका छन् । बुधबार गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारद्वारा सुर्खेतको वीरेन्द्रनगरमा संयुक्त रूपमा आयोजना गरिएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी कार्यक्रममा बोल्दै उनले सरकारका कतिपय गतिविधिका कारण निर्वाचनको वातावरण अझै तयार नभएको उल्लेख गरे ।
भदौ २३ र २४ गतेपछि सुरक्षा अवस्था पहिलेको जस्तो नरहेको र सुरक्षाकर्मीमा समेत मनोवैज्ञानिक त्रास रहेको भन्दै यस्तै अवस्था रहे निर्वाचनको वातावरण बन्न नसकेको उनको धारणा थियो । ‘यहाँ व्यक्त नभए पनि सुरक्षाकर्मी साथीहरू एकप्रकारले मनोवैज्ञानिक रूपमा त्रसित हुनुहुन्छ,’ उनले भने, ‘निर्वाचनका सन्दर्भमा दलहरूबिच नै सहमति छैन, निर्वाचनको बुथमा रहने चारजना प्रहरीको भरमा मतदान केन्द्रको सुरक्षा कसरी हुन्छ ?’
उनले दलीय व्यवस्थामा दललाई पाखा राखेर निर्वाचनको वातावरण सम्भव नभएको बताए ।