ट्रम्पले पुन: दोहोर्‍याए ग्रिनल्यान्ड लिइछाड्ने अडान

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड कब्जा गर्ने आफ्नो भनाइ पुन: दोहोर्याएका छन् । डेनमार्कको स्वशासित क्षेत्र ग्रिनल्यान्डलाई वासिंटनले आफ्नो राष्ट्रिय सुरक्षाका लागि आवश्यक भएको जोड दिएको छ । ट्रम्पले ग्रिनल्यान्ड क्षेत्रका लागि एकजना विशेष दूत नियुक्त गर्दै उनले सो क्षेत्रलाई अमेरिकाको हिस्सा बनाउने अभियानको ‘नेतृत्व गर्ने’ बताएका छन् । ट्रम्पको सोमबारको टिप्पणी डेनमार्क र ग्रिनल्यान्डका नेताहरूले अमेरिकी विशेष दूत लुइसियाना राज्यका गभर्नर जेफ ल्यन्ड्रीको टिप्पणीको विरोध गरेपछि आएको हो । ल्यान्ड्रले ग्रिनल्यान्डलाई ‘अमेरिकाको हिस्सा’ बनाइछाड्ने बताएका थिए । 

सोमबार पत्रकारलाई प्रतिक्रिया दिँदै ट्रम्पले आफ्नो अडान दोहोर्याउँदै ‘ग्रिनल्यान्ड अमेरिकी रक्षा हितका लागि महत्वपूर्ण भएको बताए । ‘हामीलाई राष्ट्रिय सुरक्षाका लागि ग्रिनल्यान्ड चाहिन्छ, खनिजका लागि होइन । ग्रिनल्यान्डको तटको माथिदेखि तलसम्म हेर्नुभयो भने जताततै रुसी र चिनियाँ जहाज देखिन्छन् । त्यसैले पनि यो भूमि हामीसँग हुनुपर्छ,’ ट्रम्पले भने । ट्रम्पले ल्यान्ड्रीले ‘ग्रिनल्यान्ड अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि कति आवश्यक छ’ भनेर बुझेको भन्दै गभर्नरको प्रशंसा गरे । ल्यान्ड्रीले दूतका रूपमा नियुक्त भएपछि समाजिक सञ्जाल एक्समा लेख्दै, ‘ग्रिनल्यान्डलाई अमेरिकाको हिस्सा बनाउने जिम्मेवारीमा काम गर्न पाउनु सम्मानको कुरा हो भएको’ बताएका थिए । उनले यो भूमिका स्वयंसेवी भएको र यसले लुजियाना राज्यको गभर्नरको कर्तव्यलाई असर नगर्ने बताएका छन् । ल्यान्ड्रीको भनाइको डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेड्रिकसेन र स्वासाशित क्षेत्र ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सेनले कडा आलोचना गरेका छन् । 

दुई नेताले जारी गरेको संयुक्त विज्ञप्तिमा ‘ग्रिनल्यान्ड ग्रिनल्यान्डवासीको भएकाले’ ‘कसैले चाहँदैमा अर्को देशलाई गाभ्न नसक्ने’ भनिएको छ । निल्सनले पछि फेसबुकमा छुट्टै लेख्दै ‘ग्रिनल्यान्डको भविष्यसम्बन्धी निर्णय आफूहरूले मात्र गर्न सक्ने’ लेखेका छन् ।  ल्यान्ड्रीको नियुक्तिप्रति असन्तुष्टि व्यक्त गर्न सोमबार नै डेनमार्कको विदेश मन्त्रालयले आफ्नो देशमा रहेका अमेरिकी राजदूत केनेथ होवेरीलाई बोलाउने तयारी गरेको थियो । उता युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले कोपेनहेगनसँग ‘पूर्ण ऐक्यबद्धता’ घोषणा गरे । तिनले ‘क्षेत्रीय अखण्डता र सार्वभौमिकता अन्तर्राष्ट्रिय कानुनको आधारभूत सिद्धान्त’को सम्मान गर्न जोड दिए । जनवरीमा ह्वाइट हाउस फर्किएदेखि नै ट्रम्पले बारम्बार स्रोतसाधनले भरिपूर्ण ग्रिनल्यान्डलाई गाभ्ने बताउँदै आएका छन् । 
 

See More On

सुझावित समाचार