भौतिक पूर्वाधार विकास कार्यालय खोटाङबाट ११२ वटा आयोजनाको ठेक्का आह्वान

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण

 भौतिक पूर्वाधार कार्यालय खोटाङले ११२ आयोजनाका लागि ठेक्का आह्वान गरेको छ । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष ०८२/८३ का लागि स्वीकृत भएको रु. ६६ करोडबराबरको १२३ वटा आयोजनाको ठेक्का गर्नुपर्नेमा पूर्वाधार कार्यालयले पुस ३ गतेसम्ममा ११२ आयोजनाको ठेक्का आह्वान गरिसकेको हो। 

ठेक्का आह्वान भएका आयोजनाका लागि सम्बन्धित निर्माण कम्पनीसँग सम्झौताको प्रक्रियासमेत अगाडि बढेको भौतिक पूर्वाधार कार्यालय खोटाङका कार्यालय प्रमुख विनम दाहालले जानकारी दिए । ‘कोशी प्रदेश सरकारबाट स्वीकृति प्राप्त आयोजनाको बजेटको हिसाबले ९६.२३ प्रतिशत र आयोजना संख्याको हिसाबले ९१.०६ प्रतिशत आयोजनाका लागि ठेक्का आह्वान गरिसकेका छौँ । बाँकी ११ वटा आयोजना प्रक्रियामा छ,’ उनले भने, ‘जग्गाको स्वामित्व नरहेको तथा स्थानीयको विवाद रहेकोजस्ता आयोजनाको ठेक्का आह्वान गर्न बाँकी छ । ती आयोजनाको पनि चाँडै ठेक्का आह्वान गरेर प्रक्रिया अगाडि बढाउँछौँ।’

दस स्थानीय तह रहेको खोटाङमा चालू आर्थिक वर्ष ०८२/८३ का लागि कोशी प्रदेश सरकारबाट स्वीकृत भएको रु. एक अर्ब बढीका १६४ आयोजना परेका छन् । पूर्वाधार कार्यालयले दिएको जानकारीअनुसार खोटाङमा सडक कालोपत्र, सडक विस्तार तथा स्तरोन्नति, मोटरेबल पक्की पुल तथा झोलुंगे  पुल निर्माण, आवास, कार्यालय तथा विद्यालय भवन निर्माणलगायतका आयोजना रहेका छन् ।

कोशी प्रदेश सरकारबाट स्वीकृत आयोजनामध्ये बहुवर्षीय आयोजनाका लागि प्रस्ताव पेस गर्नुपर्नेमा २४ वटा तथा दसवटा बहुवर्षीय आयोजना चालू अवस्थामा रहेको जनाइएको छ । आर्थिक वर्ष ०८२/८३ का लागि ठेक्का आह्वान गरिएका कतिपय आयोजनामा सम्बन्धित निर्माण कम्पनीसँग सम्झौता गरेर निर्माणको प्रक्रियासमेत अगाडि बढाइएको कार्यालय प्रमुख दाहालले जानकारी दिएका छन् । 

भौतिक पूर्वाधार विकास कार्यालय खोटाङले जिल्लामा परेका आयोजनाहरूको ठेक्का समयमै आह्वान गरेपछि निर्माण व्यवसायीहरू पनि खुसी बनेका छन् । गत कातिक २ देखि पुस ३ भित्र ११२ वटा आयोजनाका लागि पूर्वाधार कार्यालयले ठेक्का आह्वान गरेपछि निर्माण कम्पनीहरूलाई सम्झौता गर्न भ्याइनभ्याइ छ। 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा यस वर्ष अहिलेसम्मकै सबैभन्दा बढी आयोजनाका लागि बजेट परेको दाबी गरिएको छ ।  

सुझावित समाचार