तंग्रिँदै सुरक्षा संयन्त्र

चार हजार ६७१ कैदीबन्दी अझै फरार, ६१३ थान हतियार नियन्त्रणबाहिर

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण

गत भदौको जेन–जी आन्दोलनपछि शिथिल अवस्थामा पुगेको मुलुकको आन्तरिक सुरक्षा व्यवस्था लयमा फर्किँदै छ । ध्वस्त भएका देशभरका प्रहरी कार्यालय पुनर्निर्माण भएका छन् । भागेका कैदीबन्दी धमाधम गिरफ्तार गरिएको र लुटिएका हतियार पनि बरामद भएका छन् । गृह मन्त्रालयका अनुसार आन्दोलनका क्रममा नेपाल प्रहरीका मात्रै १० वटा जिल्ला प्रहरी कार्यालय र चारवटा इलाका प्रहरी कार्यालय गरी ४६५ कार्यालयमा आगजनी भएका थिए । जसमध्ये ४५२ पुनर्निर्माण भइसकेका छन् । पुनर्निर्मित सबै कार्यालयबाट प्रहरीले शान्ति सुरक्षा बहालीको काम सम्पादन गर्दै आएको छ । आन्दोलनका क्रममा २६२ भन्दा धेरै सवारीसाधन खरानी भए । जसमध्ये तीनवटा चारपांग्रे, ९६ वटा चारपांग्रे सवारीसाधनसहित विभिन्न सामग्री समुदायस्तरबाट सहयोगस्वरूप प्राप्त भएका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अविनारायण काफ्लेले जेन–जी आन्दोलनका क्रममा ध्वस्त पारिएका अधिकांश कार्यालय पुनर्निर्माण भएको र सबै कार्यालयबाट शान्तिसुरक्षा बहालीका काम तीव्र गतिमा अघि बढेको बताए । जेन–जी आन्दोलनका क्रममा २८ जिल्लाका कारागारबाट १४ हजार ५५९ कैदीबन्दी फरार भएका थिए । जसमध्ये नौ हजार ८६९ फर्किएका छन् । यो कुल फरार कैदीबन्दीको ६७.७८ प्रतिशत हो । बाँकी चार हजार ६७१ कैदीबन्दी भने अझै फरार छन् । यो कुल फरार कैदीबन्दीको ३२.०८ प्रतिशत हो । आन्दोलनका क्रममा नेपाल प्रहरीका मात्रै एक हजार ३४२ हतियार लुटिए । त्यसमध्ये हालसम्म ७२९ मात्रै फिर्ता भएका छन् । बाँकी ६१३ थान हतियार अझै फिर्ता हुन सकेको छैन । यो कुल संख्याको ४५.६७ प्रतिशत हो ।

प्रहरीका अनुसार फिर्ता हुन नसकेका मध्ये करिब दुई सय थान हतियार जलेर नष्ट भएका छन् । अर्थात् अझै ४१३ थान हतियार प्रहरीको नियन्त्रणभन्दा बाहिर छ । आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका पनि ४६ थान हतियार लुटिएका थिए । जसमध्ये ३१ थान हतियार बरामद भइसकेका छन् । डिआइजी काफ्लेले भने, ‘जेलबाट फरार भएका कैदीबन्दी र लुटिएका हतियार सुरक्षाका लागि चुनौती थिए । यस अवधिमा झन्डै १० हजार कैदीबन्दी फिर्ता भएका छन् । लुटिएका हतियार पनि अधिकांश बरामद भएका छन् । केही बाहिर होलान् । त्यसका लागि प्रहरीको विशेष सुरक्षा दस्ता फिल्डमा खटिएका छन् । ठुला हतियार शतप्रतिशत बरामद भएका छन् ।’ जेन–जी आन्दोलनपछि कमजोर भएका सुरक्षा संयन्त्र उत्साहजनक ढंगले सुदृढ भएको गृह मन्त्रालयको दाबी छ । गृह प्रवक्ता आनन्द काफ्लेले शान्तिसुरक्षा बहालीमा सरकारले उत्साहजनक ढंगले प्रगति हासिल गरेको बताए ।

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल शान्तिसुरक्षा बहालीमा नेपाल प्रहरीले हासिल गरेको प्रगति उत्साहजनक रहेको बताए । ‘जेन–जी आन्दोलनले हाम्रो सुरक्षा अवस्था जुन विन्दुमा पुर्याएको थियो, त्यसलाई आधार मानेर विश्लेषण गर्दा प्रहरीले उत्साहजनक ढंगले प्रगति गरेको देखिन्छ । अपराधको दर बढेका छैनन् । शान्तिसुरक्षा बहाली नै भएको देखिन्छ । तर, प्रो–एक्भिट पुलिसिङ भने अझै पनि हुन नसकेको देखिन्छ,’ उनले भने ।

सुझावित समाचार