निर्वाचन सफल बनाउन सरकार र शीर्ष दलबिच समझदारी
सरकार र शीर्ष तीन दलबिच फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न वातावरण बनाउने समझदारी भएको छ। राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार अपराह्न प्रधानमन्त्री सुशीला कार्कीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा यस्तो सहमति भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
पूर्वगृहमन्त्री रमेश लेखकलाई जाँचबुझ आयोगले पठायो पत्र
भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ । आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार मंगलबार लेखकलाई पत्र पठाएर आयोगमै उपस्थित भई बयान दिन भनिएको छ ।
बयान सकिएपछि तत्कालीन गृहसचिव, आइजी र सिडिओको स्थानहद फुकुवा
२३ र २४ भदौका घटनाहरूको जाँचबुझ आयोगले गोकर्णमणि दुवाडी, चन्द्रकुवेर खापुङ र छविलाल रिजालको स्थानहद फुकुवा गरेको छ। जेन–जी आन्दोलनका क्रममा दुवाडी गृहसचिव, खापुङ प्रहरी महानिरीक्षक (आइजी) र रिजाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) थिए।
महाधिवेशन र आमनिर्वाचन तोकिएकै समयमा गर्नु अपरिहार्य : नैनसिंह महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं १५औँ महाधिवेशनका लागि महामन्त्रीका दाबेदार नैनसिंह महरले पार्टीको महाधिवेशन र मुलुकको आमनिर्वाचन तोकिएकै समयमा सम्पन्न गर्नु अपरिहार्य रहेको बताएका छन्। काठमाडौंको नयाँ बानेश्वरमा आयोजित अगुवा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले लोकतन्त्रको सुदृढीकरण र संविधानको रक्षाका लागि आवधिक निर्वाचनको विकल्प नरहेको जिकिर गरे।
रायो सागमा भेटियो ९९ प्रतिशत विषादी
काठमाडौंमा उत्पादित रायो सागमा उच्च मात्रामा विषादी भेटिएको छ । बिक्रीका लागि कालीमाटी बजारमा मंगलबार ल्याइएको रायो सागमा ९९.०८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
सिन्धुलीमा आगो लगाएर महिलाको हत्या, सासू र नन्द पक्राउ
सिन्धुलीमा एक महिलाको शरीरमा पेट्रोल छर्किएर आगो लगाई हत्या गरिएको छ। कमलामाई नगरपालिका– ४, धुराबजारमा ३२ वर्षीय सुशीला बमजनको हत्या भएको हो। हत्याको आरोपमा उनकी सासू ५९ वर्षीया मायारानी बमजन र नन्द ३५ वर्षीया मीना लामा बमजनलाई प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानमा नन्द मीनाले पेट्रोल छर्किएर आगो लगाइदिने खुलेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका डिएसपी सूर्यप्रसाद सुवेदीले बताए।
मिराज ढुंगाना नेतृत्वको जेन–जी समूहद्वारा आज पनि प्रदर्शन
मिराज ढुंगाना नेतृत्वको जेन–जी समूहले मंगलबार पनि सरकारविरुद्ध प्रदर्शन गरेको छ । जेन–जीको भावनाविपरीत सरकार अघि बढ्न खोजेकाले प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिनुपर्ने माग राख्दै उनीहरूले मंगलबार पनि काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
खोटाङका तीनमध्ये एउटा विमानस्थल मात्र सञ्चालनमा, कच्ची छँदा नियमित उडान, कालोपत्रेपछि बन्द
खोटाङमा रहेका तीनमध्ये खाल्लेस्थित मनमाया राई खानीडाँडा विमानस्थलमा मात्र नियमित उडान भइरहेको छ। खोटेहाङ गाउँपालिका–४, बडकादियालेको थामखर्क विमानस्थल र रावाबेँसी गाउँपालिका–३, लामिडाँडामा रहेको लामीडाँडा विमानस्थलमा उडान हुँदैन। यी दुवै विमानस्थलको धावनमार्ग कालोपत्रे गरेसँगै उडान हुन छाडेका हुन्।
टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालको पहिलो खेल थाइल्यान्डविरुद्ध
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आसन्न आइसिसी टी–२० विश्वकपको ग्लोबल छनोटमा थाइल्यान्डविरुद्ध पहिलो खेल खेल्ने भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार ग्लोबल छनोटका ‘टाइसिट’ खेल तालिका निकाल्दा नेपालले थाइल्यान्डसँग खेल्दै छनोटको यात्रा सुरु गर्नेछ।
कतारमा नेपाली व्यवसायीबाटै ठगिए ५५ नेपाली श्रमिक
कतारमा कार्यरत ५५ जना नेपाली श्रमिक ‘नेपाली व्यवसायी’बाटै ठगिन पुगेका छन्। कतारमा कार्यरत ५५ जना श्रमिकले सुनका गहना बनाइदिन जम्मा गरेको रकम लिएर दुईजना नेपाली व्यवसायी गहना पसल नै बन्द गरेर फरार भएका छन् ।