१५ पुसदेखि फक्ताङलुङमा मानाभरा कप पुरुष फुटबल प्रतियोगिता

मंगलबार, ८ पुष, २०८२
डिजिटल संस्करण

१५ पुसदेखि फक्ताङलुङ गाउँपालिकामा आमन्त्रित प्रथम मानाभरा कप पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमस्थित मानाभरा युथ स्पोर्टिङ क्लबको आयोजनामा प्रतियोगिता १९ पुससम्म सञ्चालन हुनेछ ।

आयोजक क्लबका अध्यक्ष तुलसी दहालले प्रतियोगितामा आठ टोलीको सहभागिता रहने जानकारी दिए । क्लबका संरक्षक तथा फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा (विकास)ले सहभागी टोलीको टुंगो लागिसकेको र खेल तालिकासमेत सार्वजनिक गरिएको बताए ।

सार्वजनिक खेल तालिकाअनुसार १५ पुसमा हुने उद्घाटन खेलमा आयोजक मानाभरा युथ स्पोर्टिङ क्लब र आठराई त्रिवेणी गाउँपालिकाको माछापोखरी हिटी फुटबल क्लब चाँगे आमनेसामने हुनेछन् । १६ पुसमा फक्ताङलुङ–३, लिङ्खिमको सिँवा स्पोर्टिङ क्लब र सिदिङ्वा–७ सुरुम्खिमको लालीगुराँस फुटबल क्लबबिच प्रतिस्पर्धा हुने अध्यक्ष दहालले जानकारी दिए । 

उही दिन आमन्त्रित टोली लिखुभुजी युथ क्लब रामेछाप र मैवाखोला गाउँपालिकाको जनआदर्श स्पोर्टिङ क्लब ढुंगेसाँघुबिच खेल हुनेछ । प्रि–क्वाटर फाइनल चरणको अन्तिम खेल १७ पुसमा फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको नवप्रयास युनाइटेड क्लब र मेरिङ्देन गाउँपालिकाको प्रगतिशील युथ क्लब लिङ्तेपबीच हुने तालिका सार्वजनिक गरिएको छ । आयोजक क्लबका अध्यक्ष दाहालले सेमिफाइनलका दुवै खेल १८ पुस र फाइनल खेल १९ पुसमा हुने बताए । प्रतियोगिताको विजेताले तीन लाख दुई हजार ८२ रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले एक लाख ५२ हजार ८२ रुपैयाँ नगद पुरस्कार पाउनेछ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीसहित विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिने आयोजक क्लबका सचिव मौसम अन्छङ्बोले जानकारी दिए । 
 

सुझावित समाचार