सालपा विकास बैंकले पुस–१६ गतेबाट सर्वसाधारणका लागि आइपिओ खुला गर्ने

मंगलबार, ८ पुष, २०८२
डिजिटल संस्करण

सालपा विकास बैंकले सर्वसाधारणका लागि यही पुस–१६ गतेदेखि प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपिओ) निष्कासन गर्ने भएको छ। ‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने मूल नारासहित वि.सं. २०६९ साउन–३ गते दिक्तेल बजारमा प्रधान कार्यालय स्थापना गरेर सेवा सुरु गरेको बैंकले १३ वर्षपछि सर्वसाधारणका लागि आइपिओ जारी गर्न लागेको हो।

संस्थापक सेयर सदस्यको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत गरी रु. दुई करोड लगानीमा स्थापना गरिएको बैंकले आफ्नो जारी कुल चुक्ता पुँजीको ३३ प्रतिशतले हुन आउने रु. १७ करोड २३ लाख ८८ हजारबराबरको १७ लाख २३ हजार ८८० कित्ता आइपिओ निष्कासन गर्ने अनुमति पाएको छ। बैंकले पहिलो चरणमा वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेर रोजगारी गरिरहेका नेपालीका लागि एक लाख ७२ हजार ३८८ कित्ता तथा सामूहिक लगानी कोषका लगानीकर्ताका लागि ८६ लाख १९४ कित्ता सेयर बाँडफाँट गरिसकेको छ ।

सर्वसाधारणलाई लक्षित गरेर खुला गर्न लागिएको १४ लाख ३९ हजार १७९ कित्ता आइपिओका लागि पुस–२० गतेसम्म आवेदन दिन सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) योगेन्द्र पुनले जानकारी दिए। 'बैंकको कुल चुक्ता पुँजी रु. ३५ करोड पुगेपछि आइपिओका लागि धितोपत्र बोर्डसँग अनुमति माग गरेका थियौँ। यसका लागि बोर्डले अनुमति दिइसकेको छ,' उनले भने, 'यो सेयर सर्वसाधारण समूहमा निष्कासन हुन्छ। बैंकको कुल चुक्ता पुँजी रु. ५२ करोड २३ लाख ८८ हजार पुर्याउने गरी आइपिओ खुला गर्ने तयारी गरिएको हो। तोकिएको अवधिमा पर्याप्त आवेदन नपरेको खण्डमा पुस–३० गतेसम्म समय थप गर्न सकिन्छ।' 

पहिलोपटक सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको सेयर प्रतिकित्ता रु. १०० का दरले बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारण लगानीकर्ताले न्यूनतम दश कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सक्ने सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएर आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्ने जनाइएको छ। सेयरका लागि आवेदन दिन चाहनेले सिडिएस एन्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरेर सी–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ। 

नेपाल राष्ट्र बैंकबाट (ख) श्रेणीको अनुमति लिएर सञ्चालन गरिएको सालपा विकास बैंकको बैंकले १२ वर्षपछि मोबाइल बैंकिङ सेवा उपलब्ध गराएको थियो। आइपिओ खुला गरेलगत्तै विभिन्न जिल्लामा शाखा विस्तार गर्ने तयारी गरिएको सञ्चालक समितिका अध्यक्ष टंक राईले जानकारी दिएका छन् । 

बैंकले निक्षेप रकमलाई जिल्लाका कृषि, पर्यटन, व्यवसायी, उद्यमीहरूको व्यवसाय प्रवर्धनका लागि सुलभ ब्याज दरमा कर्जा उपलब्ध गराउँदै आएको छ। ‘जनता बैंकमा होइन, बैंक जनतासम्म जानुपर्छ’ भन्ने अवधारण लिएर स्थापना गरिएको सालपा विकास बैंक ‘एक घर, एक खाता’ परियोजनासमेत सञ्चालन गरेको छ। 

जिल्लाका प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारसँगै विभिन्न स्थानीय तहका ६ ठाउँमा शाखा रहेको बैंकले चल्ती तथा कल खाता, साधारण, नारी, विद्यार्थी, ज्येष्ठ, बाल, खुत्रुकेलगायतका दशवटा बचत खाता, आठ किसिमका मुद्दती खाता र नौ किसिमका कर्जा तथा सापटी विप्रेषणलगायतका सेवा प्रवाह गर्दै आएको छ। हलेँसी, ऐँसेलुखर्क, बाक्सिला, सिम्पानी र चिसापानीमा शाखा कार्यालय स्थापना गरेर सेवा प्रवाह गर्दै आएको बैंकले आइएमई, प्रभु मनी ट्रान्सफर, हिमाल रेमिट, वेस्टर्न युनियन, हुलास रेमिट, सेवा रेमिट, सि.जि. फिन्को, सिटी एक्सप्रेस, रिलायबल रेमिट, कुमारी रेमिट सेवासमेत प्रदान गर्दै आएको जनाइएको छ। 

१० जिल्लाका १२० जना सेयर सदस्यबाट सुरु गरिएको बैंकमा हाल ६८ जिल्लाका तीन हजार ५०० सेयर सदस्य रहेको सिइओ पुनले जानकारी दिएका छन्। स्थापनाकालमा खोटाङ जिल्लालाई मात्रै कार्यक्षेत्र बनाएको सालपा विकास बैंकको गत फागुन–२० गते सम्पन्न ११औँ साधारणसभाले आफ्नो कार्यक्षेत्रलाई थप चार जिल्लामा विस्तार गर्ने निर्णय पारित गरेको थियो।

सुझावित समाचार