गुडिरहेको बसको ढोकाबाट खस्दा एक यात्रु घाइते

मंगलबार, ८ पुष, २०८२
डिजिटल संस्करण

रामेछापको मन्थली नगरपालिका– २, कठजोरस्थित भित्री कच्ची सडकमा गुडिरहेको यात्रुवाहक बसको ढोकाबाट खस्दा एक यात्रु घाइते भएका छन्।

सोमबार दिउँसो काठमाडौंबाट यात्रु लिएर रामेछापको लिखु तामाकोशी गाउँपालिका– २, दुरागाउँतर्फ जाँदै गरेको बा.प्र.०१–००५ ख ९९२९ नम्बरको पूर्वअरनिको यातायात सेवा समितिको बसबाट खस्दा लिखु तामाकोशी– ५ बिजुलीकोटका अन्दाजी ५२ वर्षीय चित्रबहादुर मगर घाइते भएका हुन्।

घाइते मगरको तत्काल घटनास्थलबाट स्थानीयहरूले उद्धार गरी उपचारका लागि सदरमुकाम मन्थलीमा रहेको रामेछाप सामुदायिक अस्पताल ल्याएका थिए। सो अस्पतालमा उपचार सम्भव नभएपछि गएराति नै थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पतालमा रेफर गरिएको छ।

घाइते मगरको ढाड र शरीरको भित्री भागमा चोट रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

सुझावित समाचार