बर्दियामा ८२ वर्षीया ज्येष्ठ नागरिक महिलालाई नागरिकता दिइएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले गुलरिया नगरपालिका– ११ की ८२ वर्षीया मुन्नी कुर्मीलाई सोमबार नागरिकता दिएको हो ।
नागरिकता नहुँदा कुर्मी विधवा भत्ता र ज्येष्ठ नागरिक भत्ताबाट बन्चित थिइन् । गुलरिया नगरपालिका– ११ वडा कार्यालयको सिफारिसको आधारमा कुर्मीलाई नागरिकता दिइएको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत करसिंह बुढाले जानकारी दिए । उनले कुर्मीले नागरिकता लिए–नलिएको बारेमा बुझ्दा अहिलेसम्म नागरिकता लिएको नदेखिएको हुँदा कुर्मीलाई नागरिकता दिइएकाे बताए।
गुलरिया नगरपालिका– ११ कि मुन्नी कुर्मीले ८२ वर्षको उमेरमा नागरिकता पाउँदा खुसी हुँदै अब राज्यले दिने सेवा–सुविधा पाउने बताइन् । उनले भनिन्, ‘अब मैले कम्तीमा पनि भत्ता पाउने भएँ । यो पैसाले मैले आफूलाई चाहिएको सामान किन्न पाउने भएँ ।’
कुर्मीका चार सन्तान रहेका छन् । अन्यको नागरिकता भए पनि कुर्मीको बनेको थिएन ।