मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) परियोजनाले अनुदानमा स्तरोन्नति गर्न लागेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत धानखोला–लमही खण्डको ठेक्का सम्झौता भएको छ । मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले सोमबार शर्मा–कुमार संयुक्त उपक्रमसँग दुई करोड डलरमा ठेक्का सम्झौता गरेको हो ।
ठेक्काको अवधि ४२ महिना रहेको छ । एसिसी परियोजनामा पहिलोपटक नेपाली कम्पनीले पूर्ण स्वामित्वमा ठेक्का पाएका हुन् । यसअघि प्रसारणलाइन निर्माणका लागि विदेशी कम्पनीसँगको संयुक्त उपक्रममा नेपाली कम्पनीले ठेक्का पाएका थिए ।
४० किलो मिटर सडकलाई ‘फुल डेप्थ रिक्लेमेसन तथा सुपरपेभ प्रविधि’ प्रयोग गरेर सडक स्तरोन्नति गरिने भएको छ । नेपालमा पहिलोपटक यो प्रविधि प्रयोग गरेर सडक स्तरोन्नति गर्न लागिएको हो । यसअन्तर्गत सात मिटरको क्यारिज वे र २.५ मिटरको सोल्डर निर्माण गरी सडकलाई १२ मिटर चौडा गरिनेछ । नारायणघाट–मुग्लिन सडकको नियमित मर्मतकार्यको डिपिआर पनि ठेक्का लागेको छ ।
सुपरिवेक्षणका लागि इन्टरनेसनल कन्सल्ट्यान्ट्स एन्ड टेक्नोक्राट्स प्रालिसँग ३६.६ लाख अमेरिकी डलरमा सम्झौता गरिएको छ । यसअन्तर्गत कम्पनीले उक्त सडक मर्मतका लागि डिपिआर बनाएर एमसिए नेपालमा पेस गर्नेछ । सोही डिपिआरका आधारमा नयाँ ठेक्का लगाएर एमसिए नेपालले मर्मतकार्य अघि बढाउनेछ । उक्त सडकलाई भने मिलिङ प्रविधिअन्तर्गत मर्मत गरिँदै छ । यो प्रविधिले मुख्यतः नयाँ र पुरानो कालोपत्रेलाई समायोजन गर्छ । अबको चार महिनामा डिपिआर तयार गरी खरिद प्रक्रिया अघि बढाउने एमसिए नेपालको तयारी छ ।