भगवान् बुद्ध एकपटक घुम्दै नदीकिनारमा पुगे । त्यहाँ एउटा माझी जाल हालेर माछा समातिरहेका थिए । फुर्लुङमा राखिएका माछा पानीको अभावमा तड्पीतड्पी मरिरहेका थिए । यो देख्दा बुद्ध ज्यादै द्रवीभूत भए र माझीको नजिक गएर सोधे– तिमी यी निर्दोष माछालाई किन समातिरहेका छौ ? माझीले भने– म यिनलाई समातेर बजारमा लगेर बेच्छु र धन कमाउँछु । बुद्धले भने– तिमी यी माछाको मूल्य मसित लेऊ र यिनलाई छाडिदेऊ ।
बुद्धको कुरा सुन्दा माझी खुसी भए । उनलाई बजार जानु पनि परेन र पैसा पनि आयो । बुद्धले मूल्य चुक्ता गरे र ती तड्पिरहेका माछालाई नदीमै छोडिदिए । बुद्धको हर्कत देखेर माझी चकित भए । उनले बुद्धलाई सोधे– महाराज, तपाईंले यी माछा किनेर फेरि किन नदीमै छाडिदिनुभयो ? बुद्धले भने– मैले यिनलाई पुनः जीवन दिन सकिन्छ कि भनेर किनेको हुँ । कसैको हत्या गर्नु पाप हो । कसैले तिमी वा तिम्रा आफन्तको घाँटी रेटेर हत्या गरिदियो भने तिमी वा तिम्रा आफन्तलाई कस्तो लाग्ला ?
बुद्धले फेरि भने– जसरी हावा र पानी नपाए मानिस बाँच्न सक्दैन, त्यसैगरी माछा पनि पानी नपाउँदा तड्पी–तड्पी मर्छन् । यी निर्दोष माछा तड्पेको तिमी कसरी हेर्न सक्छौ ? बुद्धको कुरा सुनेर माझीका आँखा खुले । उनले हात जोडेर भने– महाराज, म एउटा चित्रकार पनि हुँ । अब प्राणी हत्याको मार्ग छाडेर चित्रकारिताबाट आफ्नो आजीविका चलाउनेछु । त्यसपछि हिंसा छाडेर ती माझी एक सफल चित्रकार बने ।