शहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाई एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सरकार विकास निर्माणका आयोजनाहरु समयमै पूरा गर्न गम्भिर रहेको बताएका छन्। रामेछापको सदरमुकाम मन्थलीमा आयोजित कार्यक्रममा मन्त्री घिसिङले विकास निर्माणका काम समयमा सक्न स्थानीय तह, प्रदेश र संघीय सरकारबिच समन्वय अपरिहार्य रहेको प्रष्ट पारे।
अर्थ मन्त्रालयले एक अर्बभन्दा माथिका आयोजनाहरु रोकेर राखेकोमा तत्काल फुकुवाको लागि प्रक्रिया अघि बढाएको पनि उनले जानकारी दिए। उनका अनुसार यसअघि रोकिएका करिब ४० अर्ब जतिका योजनाहरु फुकुवा भइसकेका छन् भने अन्य योजनाहरुको पनि फुकुवा हुने कार्य अघि बढेको छ।
मन्त्री भएपछि पहिलो पटक मन्थली आइपुगेका घिसिङले रोकिएका बजेट तत्काल जिल्लामा आउने प्रष्ट पारे। बजेट प्राप्त भएको भोलिपल्टै टेण्डर आव्हान गरी काम अघि बढाउन उनले सम्वन्धित निकायका प्रमुखहरुलाई निर्देशन समेत दिए। अहिलेको सरकार काम गर्न आएको बताउँदै उनले जसरी हुन्छ, चाँडो नागरिकलाई सेवा प्रदान गर्न गम्भिर हुनुपर्ने उल्लेख गरे।
गृह जिल्ला रामेछापमा उज्यालो नेपाल पार्टीको प्रथम भेलालाई सम्वोधन गर्न स्थलमार्ग हुँदै उनी सोमबार दिउँसो सदरमुकाम मन्थली आइपुगेका थिए। घिसिङले सम्बोधनका क्रममा पार्टीको जन्म भएको एक महिनामै आगोको झिल्को जसरी देरभर फैलिएको दाबी गर्दै अबको दुई महिनापछि बहुमतसहित सरकारमा पुग्ने लक्ष्यका साथ अघि बढेको बताए।
मन्त्री घिसिङले तोकेको समय फागुन २१ गते नै निर्वाचन गराउन सरकार लागि परेकाले जसरी पनि निर्वाचन हुने जिकिर गरे। उनले सोहीअनुसार जिल्लामा आफ्नो तयारी थाल्न कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए।
यसैबिच, उज्यालो नेपाल पार्टीको रामेछापमा भएको प्रथम भेलाले अन्जन लामाको संयोजकत्वमा कार्य समिति चयन गरेको छ। जसको सचिवमा राजकुमार मैनाली छन्।
सदस्यहरुमा भिम बहादुर लामा, अमृत रुम्बा, विक्रम तामाङ, तिलक बहादुर तामाङ, जयराम घिसिङ र मानबहादुर तामाङसहित २३ जना छन्। संयोजक लामा यसअघि माओवादी केन्द्रमा थिए भने सचिव राजकुमार मैनाली एमाले निकट युवा संघमा थिए।