नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएर पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेका थुप्रै गन्तव्य स्थलहरू छन्। तिनैमध्येको एक हो खोटाङको बाहाने पोखरी। आफ्नो जन्मभूमिलाई चिनाउने उद्देश्यका साथ मिसन सिबिरिगोले म्युजिकल फिल्म सार्वजनिक गरेका छन्।
जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल बाहाने पोखरी क्षेत्रमा पहिलोपटक उनले म्युजिकल फिल्म ‘चाँदीको पाना’को छायांकन गरेका हुन्। सिबिरिगोले आफ्नो प्रयासलाई खोटाङको पर्यटन र संस्कृतिलाई उजागर गर्ने एक दरिलो प्रयास भनेका छन्। करिब तीन वर्षदेखि पर्यटन प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाएर विभिन्न नयाँ गन्तव्यहरूमा म्युजिकल फिल्म छायांकन गर्दै आएका सिबिरिगोले यसअघि बाजुराको बडिमालिका क्षेत्रमा ‘म भेडी गोठालो’, कास्कीको कोरिमा ‘बतासजस्तै’जस्ता गीत पस्किसकेका छन्।
यसपटक भने ‘चाँदीको पाना’मार्फत आफ्नै माटोको सुगन्ध र कथा दर्शकसम्म पुर्याउने प्रयास गरेको उनले बताए। पर्यटन तथा संस्कृति प्रवर्द्धनको हुटहुटी बोकेर नेपालका ७० जिल्ला पुगिसकेका निर्देशक सिबिरिगोले यसपटक आफ्नै जन्मथलो रोजेका हुन्।
गीतमा बाहाने पोखरी वरपरको रमणीय दृश्य र स्थानीय जनजीवनलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। गीतमा गायक सुरज पण्डित र गायिका मेलिना राईले स्वर दिएका छन्। म्युजिकल फिल्ममा अरुण पुन मगर, मिसन सिबिरिगो, विमला खाजुम, अमित मगर र स्वर्णिमा राईको अभिनय छ भने भिडियोको छायांकन अनिलकृष्ण मानन्धरले गरेका हुन्।