रुपन्देहीमा मंसिरमा मात्रै १७३ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार दर्ता भएका मुद्दामा सबैभन्दा धेरै बैंकिङ कसुरका रहेका छन् ।
बैंकिङ कसुरका २७ वटा मुद्दा दर्ता भएका थिए । त्यस्तै, आत्महत्याका १७, लागुऔषधका १३, ज्यानसम्बन्धी ११, सवारी ज्यान र चोरीसम्बन्धीका १०–१०, जबर्जस्ती करणीका पाँच, ज्यान मार्ने उद्योग र ठगीसम्बन्धीका तीन–तीन, साइबर अपराधका दुई र कर्तव्य ज्यानकाे एउटा मुद्दा प्रहरीमा दर्ता भएका छन् । यीमध्ये ९७ वटा फर्स्याेट भएका छन् ।
प्रहरीले चालू मुद्दाका १५९ प्रतिवादी पक्राउ गरेको जनाएको छ । त्यस्तै, मंसिरमा फैसला कार्यान्वयनतर्फ ३० जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार यिनीहरूबाट ४३ लाख ६ हजार १९६ जरिवाना तथा २८ वर्ष दुई महिना आठ दिन कैद भुक्तनी बाँकी रहेको थियो ।
पक्राउ परेकामध्ये तीनजनालाई वैदेशिक रोजगार विभागमा पठाइएको छ । त्यस्तै, चारजना फरार कैदीहरू मंसिरमा पक्राउ परेका छन् । भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा कपिलवस्तु, नवलपरासी, तनहुँ र नक्खु कारागारबाट फरार भएका एक–एकजना गरी चारजना पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
यहा मंसिरमा मात्रै हराएका महिला, पुरुष, बाल–बालिका तथा ज्येष्ठ नागरिक संख्या ९२ रहेको छ । जसमा सबैभन्दा धेरै महिला रहेका छन् ।
जिप्रकाका प्रनाउ कार्कीका अनुसार महिला ४१, बालिका २२, ज्येष्ठ नागरिक महिला तीनजना मंसिरमा हराएका छन् । त्यस्तै, पुरुषतर्फ ज्येष्ठ नागरिक एक, बालक नाै र पुरुष १६ हराएको तथ्यांक यहाँ रहेको छ । यहाँ मंसिरमा ३५ जना भेटिएका छन् । जसमा महिला १५, बालिका आठ, ज्येष्ठ नागरिक महिला दुई रहेका छन् । त्यस्तै पुरुष ६, बालक ३, ज्येष्ठ नागरिक पुरुष एकजना फेला परेका छन् ।
अघिल्लो आर्थिक वर्ष ०८१/८२ मा हराएकामध्ये मंसिरमा ११ जना फेला परेका छन् । जसमा चार–चार महिला पुरुष र तीन बालिका रहेका छन् ।
रुपन्देहीमा मंसिरमा घरेलु हिंसाका ४७ वटा उजुरी परे । जसमा सबैभन्दा धेरै घरायसी झै–झगडाका २९ वटा रहेका छन् । त्यस्तै, घरमा खाना–बस्न नदिएका चार तथा विवाह दर्ता तथा नागरिकता नबनाइदिएका दुईवटा उजुरी पनि परेका छन् । यहाँ लागुऔषध का मुद्दा १३ वटा रहेकोमा २६ जना पक्राउ परेका थिए ।
सवारी दुर्घटनामा १० जनाको मृत्यु, ३४४ घाइते
मंसिमा रुपन्देहीमा २३८ सवारी दुर्घटना भएको तथ्यांक छ । यी दुर्घटनामा परेर १० जनाको ज्यान गएको छ भने ३४४ जना घाइते भएका छन् ।
प्रहरीले यस महिनामा चेकजाँचका क्रममा ७७२ सवारी कारबाही गरेको छ भने आठ लाख ८१ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै, राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणतर्फको कारबाहीमा ६६ लाख ८५ हजार ३१२ रुपैयाँ राजस्व संकलन गरेको छ । यस अवधिमा राजस्व छलीमा संलग्न प्रहरीले १६ जनालाई पक्राउ पनि गरेको छ ।