२५८ दिनपछि रास्वपा सभापतिकै भूमिकामा फर्किएका रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर तोकिएकै मितिमा चुनाव हुनुपर्ने ग्यारेन्टी खोजेका छन् । उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ले तथा नेताहरू शिशिर खनाल र सोविता गौतमसहित आइतबार साँझ बालुवाटार पुगेका लामिछानेले निर्वाचनका लागि सरकारले गरिरहेको तयारीबारे चासो राखेका थिए । जवाफमा प्रधानमन्त्री कार्कीले तोकिएकै मितिमा निर्वाचनमा होमिनका लागि ढुक्क भएर तयारी गर्न भनेकी छिन् ।
तीन घण्टा चलेको छलफलमा लामिछानेले प्रधानमन्त्रीसँग चार विषयमा जिज्ञासा राखेका थिए । जेन–जी आन्दोलनका घाइतेको अवस्था के छ ? जेन–जीसँग भएको सम्झौता कार्यान्वयनको प्रगति के छ ? भनेर जिज्ञासा राखेका थिए । त्यस्तै, आफूहरू चुनावमा लागिसकेको भन्दै उनले तोकिएकै समयमा चुनाव गराउन सरकार सतर्क हुनुपर्नेमा सचेत गराए ।
‘हामी चुनावमा लागिसक्यौँ, समानुपातिकको उम्मेदवारहरूको सूची अन्तिम चरण छन्, भावी सांसदको अनुहार क्लियर भइसक्यो । यो संक्रमणकाल लम्बिनुहुँदैन, लम्बियो भने देशले अझै दुःख पाउँछ । चुनाव भयो भने मात्रै शान्ति हुन्छ,’ लामिछानेले प्रधानमन्त्रीसँग भने, ‘केही तत्वहरूले नयाँ बखेडा झिकेर परिस्थिति बिगार्न सक्छन्, चुनाव भाँड्न सक्छन् । सरकार सतर्क बनोस् ।’
जवाफमा प्रधानमन्त्रीले निर्वाचन नहोला भनेर द्विविधा नहुन आग्रह गरिन् । उनले भनिन्, ‘चुनाव हुन्न कि भन्ने कुरामा कहीँ द्विविधा राख्न पर्दैन । मेरो दिमागमा दुईवटा सिन मात्रै आइरहेको छ । जुन दिन गोली चल्यो, स्कुलको पोसाकमा हिँडिरहेका विद्यार्थी गोली लागेर ढले, त्यो दृश्य दिमागमा आउँछ र जसरी पनि चुनाव गर्नुपर्छ भन्ने आँट आउँछ । त्यस्तै, फागुन २१ को चुनाव सम्पन्न भएर हात धोएर घर जाने दृश्य आउँछ । यो दुईवटा दृश्य मात्रै छ मेरो दिमागमा, अरू केही छैन ।’
चुनाव बिथोल्न सक्ने लामिछानेको चिन्तामा गृहमन्त्री ओमप्रकाश अर्यालले विचलित नहुन जवाफ दिएका छन् । ‘हामीले भ्रष्टाचारी र आर्थिक अपराध गर्नेहरूमाथि जुन कारबाही अगाडि बढायौँ, त्यसबाट आत्तिएकाहरू विभिन्न बहाना र आवरणमा देखापरेका छन् । तर, हामी विचलित हुँदैनौँ,’ उनले भने ।
रास्वपा नेतृ गौतमका अनुसार लामिछानेले जेन–जीसँग सरकारले गरेको सम्झौता कार्यान्वयनको अवस्था, २१ वर्ष पुगेको व्यक्तिले चुनाव लड्न पाउनुपर्ने जेन–जीको चासोलाई समेट्दै तोकिएकै मितिमा निर्वाचन गर्न के–के भइरहेको छ भनेर जिज्ञासा राखेका थिए । ‘सरकार र जेन–जीबिच भएको सम्झौता कार्यान्वयनको अवस्था के छ ? सरकारले के काम गरिरहेको छ भनेर पनि कुरा उठायौँ । २१ वर्ष पुगेको व्यक्तिले चुनाव लड्न पाउने जेन–जीको चासोलाई कसरी समेट्न सकिएला ?
भन्ने कुरा राख्यौँ । राष्ट्रिय संकट नआओस् भनेर चुनावका लागि हामीले गरेको तयारीबारे छलफल भयो,’ उनले भनिन् । सञ्चारमन्त्री जगदीश खरेलले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित चुनाव २१ फागुनमै गर्न सकिन्छ भनेर सरकारले निर्वाचन आयोग र सुरक्षा निकायको कामकारबाहीबारे रास्वपा टिमलाई जानकारी गराएको बताए ।